भक्तपुरको प्रतिष्ठित साहित्यिक पुरस्कार मानन्धर र असंबरेलाई अर्पण
Janjati Khabar – जनजातिखबर संवाददाता | २०८२ श्रावण ११, आइतबार
भक्तपुरको प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरले वर्षेनी प्रदान गरिंदै आएको जरिमैंया साखः लुमन्ति सिरपा र कुमार साखः लुमन्ति हःपाः सिरपा शनिबार एक कार्यक्रममा प्रदान गरिएको छ । नेपालभाषाको साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने एक जना महिला साहित्यकारलाई प्रदान गरिने जरिमैंया साखः लुमन्ति सिरपा यस वर्ष सुलोचना मानन्धर धिताललाई प्रदान गरिएको छ । यस्तै गरी एक जना पुरुष साहित्यकार लाई दिइने कुमार साखः हःपाः सिरपा यस वर्ष विजयरत्न असंबरे लाई प्रदान गरिएको छ । शनिबार भक्तपुरको सिद्धिपोखरी पार्टी पालेसमा सम्पन्न कार्यक्रममा प्रदान गरिएको दुबै पुरस्कारको साथमा नगद राशी जनही दस हजार रुपियां रहेको छ ।
नेपाल साहित्य मन्दिरका संस्थापक प्रसिद्ध साहित्यकार तिलक प्रकाश कायस्थ प्रमुख अतिथि रहेको सो कार्यक्रम नेपाल साहित्य मन्दिरका अध्यक्ष प्राज्ञ त्रैलोक्यमान बनेपाली अगिबको सभापतित्वमा भएको थियो । सोही कार्यक्रममा पाल्पा तानसेनका वरिष्ठ भाषिक अभियन्ता छत्र राज शाक्यलाई विशिष्ट साहित्य सम्मान ११४५ पनि प्रदान गरिएको थियो । स्वास्थ्य स्थितिको कारण शाक्य उपस्थित हुनु भएन ।
कार्यक्रममा प्रमुख अतिथि तिलक प्रकाश कायस्थ, प्रसिद्ध व्यवसायी कृष्णलाल प्रधान, विराट गुथिका अध्यक्ष र नेपालभाषा एकेडेमीका सदस्य सचिव महेन्द्र गोपाल कर्माचार्यको साथमा पुरस्कृत व्यक्तित्वहरु सुलोचना मानन्धर धिताल र विजयरत्न असंबरे लगायतले मन्तव्य राखे ।
आयोजकका तर्फबाट रामनारायण प्रजापतिले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा उत्तम नारायण प्रधानले धन्यवाद ज्ञापन गरे । सोही कार्यक्रममा कविताया लायकु र मिसा साहित्यकार मुना नामक संस्था हरुबाट सुलोचना साँयजु , हिसिलिना शाक्य , रहिना नकःमि मानन्धर, बिनिता खडगी, बिना नेमकुल , मन्जु श्रेष्ठ सिंह , मिमला शर्मा, पुर्णिमा शाक्य, दिव्या बज्राचार्य,विमला मानन्धर,मिलन शाक्य,रिता महर्जन र प्रसिद्ध कवयत्री प्रतिसरा सायमिले कविता वाचन गरेका थिए ।
Categorized in साहित्य-कला

