भजनको संरक्षणका लागि प्रयास
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ३, मंगलबार
युवापुस्ताको मोह घट्दै जाँदा लोप हुने अवस्थामा रहेको लोकभजन जोगाउन बागलुङमा प्रयास थालिएको छ । पश्चिमा संस्कृति भित्रिँदा मौलिक संस्कृतिको रूपमा रहेको लोकभजन हराउन थालेपछि कालिका भगवती गुठी व्यवस्थापन समितिले भजनको संरक्षणका लागि प्रयास थालेको हो ।
गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा परिचित बागलुङ कालिकाले लोकभजनको संरक्षण तथा पुस्ता हस्तान्तरणका लागि १५ दिने भजन प्रशिक्षण गरेको बागलुङ भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । “लोप हुनलागेको मौलिक लोकभजनलाई जोगाउन तथा प्रचारप्रसार गर्न भजन प्रशिक्षण आयोजना गरेका हौँ”, खड्काले भन्नुभयो, “तालीमले नयाँ भजन कलाकार जन्माउने र संरक्षण गर्नेछ ।”
गाउँघरको पूजापाठमा मात्र सीमित रहेको लोकभजनलाई व्यावसायिक बनाउनका लागि अहिले लोकभजन प्रतियोगितासमेत हुन थालेपछि नयाँ भजन कलाकार उत्पादन गर्न थालिएको हो । गुठी व्यवस्थापन समितिले सोमबार मात्रै पुस्ता हस्तान्तरण तथा संरक्षणका लागि १५ दिने लोकभजन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्लामा लोकभजन हराउन थालेकाले सात वर्षअघि बागलुङ कालिका सत्सङ्ग तथा भजनकीर्तन समूह नै गठन गरेर लोकभजनको संरक्षणमा लागेको राजु खड्काले बताउनुभयो । तालीमको प्रभावलाई हेरेर यसलाई निरन्तरता दिने योजना बनाएको खड्काले जानकारी दिनुभयो । “लोक संस्कृतिको धरोहरका रूपमा रहेको लोकभजन पुस्ता हस्तान्तरण गर्न खोजेका हौँ”, खड्काले भन्नुभयो, “आगामी वर्षदेखि यस तालीमलाई वृहत बनाएर लगिनेछ ।”
गुठी व्यवस्थापन समितिले २३ जनालाई मादल, हार्मोनियम, बाँसुरी, सारङ्गी, खैजरी र तबलासँगै लोकभजन गाउन प्रशिक्षण गरिएको प्रशिक्षण सूर्य घतानले बताउनुभयो । कालिका भगवती गुठी व्यवस्थापनको आन्तरिक खर्चमा तालीम दिएको छ । यस्तै जैमिनी सङ्कीर्तन समूहले समेत एक महीना अगाडि ३१ जनालाई भजन प्रशिक्षण गरेको थियो ।
जिल्लामा भजन लोप हँुदै जाँदा संस्कृति हराउन सक्ने भन्दै पुस्ता हस्तान्तरणका गर्न खोजेकाले यस्ता प्रशिक्षण तालीम आयोजना गर्नुपर्ने धवलागिरिकै उत्कृष्ट भजन समूह जैमिनी सङ्कीर्तन समूहका अध्यक्ष टेकबहादुर क्षेत्रीले बताउनुभयो । तालीमपश्चात रोजगारीसमेत सिर्जना हुने गरी समानुपातिक रुपमा सहभागी गराइएको समूहले जनाएको छ ।
Categorized in राष्ट्रिय