STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतको वैष्णोदेवी मन्दिरमा भागदौड हुँदा १२ जनाको मृत्यु

Janjati Khabar – एजेन्सी | २०७८ पौष १७, शनिबार

१७ पुस, एजेन्सी - दशौँ हजार तीर्थयात्री पूजाअर्चना गर्न भेला भएका बेला शनिबार बिहानै भारतीय धार्मिक स्थलमा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

भारत प्रशासित कश्मीरको वैष्णोदेवी मन्दिर जाने बाटोमा शनिबार भागदौड मच्चिएपछि बिहान करिब सवा २ बजे १२ जनाको मृत्यु भएको छ भने करिब १५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

खासगरी भारतीय हिन्दूहरूले विशेष महत्वको धार्मिक स्थलका रूपमा मान्ने यहाँ हरेक वर्ष लाखौँ मानिसहरूले वैष्णोदेवीको दर्शन गरी पूजा अर्चना गर्दछन् ।

घटनामा बाँच्न सफल रविन्द्रले एएफपीलाई फोनमार्फत् जानकारी दिँदै भने, 'एकाएक हल्ला र भागदौड मच्चियो । मानिसहरू एकअर्कामाथि लड्न थाले । कसको खुट्टा वा पाखुरा भाचियो कसैलाई मतलब भएको देखिँदैनथ्यो । सबै आफ्नो ज्यान बचाउन भागिरहेको देखिन्थ्यो ।'

'लगभग आधा घण्टापछि एम्बुलेन्स पुग्दासम्म म लगायतका केही मानिसले आठवटा लास घटनास्थलमा जम्मा गरेका थियौँ भने दर्जनभन्दा बढी घाइते भएका थिए,' उनले भने, 'कहालीलाग्दो यस घटनामा जीवित रहन पाएकोमा म भाग्यमानी महसुस गरेको छु । तर, मेरो आँखाअगाडि घटेको यस दृष्य सम्झिँदा अझै पनि डरले शरीर थरथर काँपीरहेको छ ।'

भिडियोमा डरले थरथर काँपीरहेका तीर्थयात्रीहरू बच्न हतारहतार नजिकैको ढिस्कोमा चढिरहेका देखिन्छ । स्थानीय अधिकारीहरूले दुई समूहका युवाहरूबीच भएको कथित मतभेद र नयाँ वर्ष दिवसका लागि मानिसहरूको दौडधूप घटनाको मुख्य कारक भएको बताए ।

स्थानीय प्रहरी प्रमुख दिलबाग सिंहले प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई) सँग भागदौड मच्चिएको केही क्षणमा नै प्रहरी त्यहाँ पुगेको बताए । प्रहरी पुग्दा केही मानिसको ज्यान गइसकेको र केही छटपटाइरहेका देखिएको उनले बताए ।

एक अर्का प्रत्यक्षदर्शीले आफ्नो नाम नबताउने शर्तमा भने, 'मेला व्यवस्थापनमा भएको कमीका कारण घटना हुन पुगेको देखिन्छ ।' घटनास्थलमा अत्यधिक भीड भएको र यसलाई व्यवस्थापन गर्ने स्वयंसेवक नदेखिएको उनले बताए ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई समवेदना दिएका छन् । मृतकका आफन्तलाई भारतीय दुई लाख रूपैँया र घाइतेलाई ५० हजार राहतस्वरूप दिइने मोदीले बताएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय