STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतमा तीन करोडलाई निःशुल्क कोरोना खोप

Janjati Khabar – एजेन्सी | २०७७ पौष १९, आइतबार

भारत सरकारले पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिने भएको छ ।

भारतका स्वास्थ्यमन्त्री हर्ष बर्धनले नयाँदिल्लीमा खोप अभियानको पूर्वतयारीको अवलोकनका क्रममा पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोभिड महामारीमा फ्रन्टलाइनमा खटिएका लगायत तीन करोड मानिसलाई खोप लगाउने बताएका हुन् । भारत सरकारले यसअघि नै आउँदो जुलाई महिनाभित्र ३० करोडभन्दा बढीलाई खोप दिने घोषणा गरिसकेको छ ।

भारतले खोपको देशव्यापी वितरणका लागि विशेष अभियान नै तयार पारेको छ । भारत सरकारले खोप अभियानका लागि झण्डै एक लाख जनशक्तिलाई तयारी अवस्थामा राखेको जनाएको छ।

यसैबीच भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया (डीसीजीआई) ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई नियन्त्रित तर आपतकालीन प्रयोगका लागि सिफारिस गरेको छ ।

डीसीजीआइको विषय विशेषज्ञ समितिको बैठक (एसईसी) ले स्वदेशी सङ्क्रमित बिरामीमा खोपको आपतकालीन प्रयोगका लागि आवेदन गर्ने दुई कम्पनी एसआईआई र भारत बायोटेकले बुझाएको आवेदन समीक्षा गर्न दिल्लीमा बैठकको आयोजना गरिएको थियो ।

कोभ्याक्सिन भारतीय मेडिकल रिसर्च (आईसीएमआर) को सहकार्यमा भारतीय बायोटेकद्वारा स्वदेशी प्रविधिमा विकसित एक कोरोना भाइरस खोप हो ।

Categorized in अन्तर्राष्ट्रिय