STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भिजिट नेपाल २०२० को उपलक्ष्यमा अन्तर्राष्ट्रिय मेयर सम्मेलन घोषणा

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ९, बिहिबार

कीर्तिपुर नगरपालिकाको आयोजनामा उपत्यका नगरपालिका फोरमको विस्तारित बैठक सम्पन्न भएको छ । उक्त बैठकमा उपत्यकाका सम्पूर्ण नगरपालिकाका मेयर–उपमेयर एवं ककनी गाउँपालिकाबाट गाउँपालिका प्रमुखका साथ विभिन्न ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । कीर्तिपुर १० वडास्थिति हिलसाइड होटल रिसोर्टमा माघ ८ गते बुधबार भएको उक्त विस्तारित बैठकमा उपत्यकाका तीन नगरपालिकाका प्रतिनिधिहरुको उपस्थिति नरहेको जानकारी आयोजक कीर्तिपुर नगरपालिकाले दिएको छ । उक्त विस्तारित बैठक पश्चात् पत्रकार सम्मेलन गरी बिस्तारित बैठकमा भएको निर्णयहरु संचारमाध्यममा प्रतिनिधिहरुलाई जानकारी गराइएको थियो । सार्वजनिक गरेको विस्तारित बैठकको निर्णय अनुसार भिजिट नेपाल २०२० को अवसरमा उपत्यका नगरपालिका फोरमको आयोजनामा अन्तर्राष्ट्रिय मेयर सम्मेलन गर्ने निर्णय भएको र उक्त अन्तर्राष्ट्रिय मेयर सम्मेलनको लोगो परिमार्जन साथै पारित भएको जानकारी दिएको छ । त्यस्तै, उक्त अन्तर्राष्ट्रिय मेयर सम्मेलनको अवधारणा पत्र तथा प्राविधिक कार्यक्रम परिमार्जन संगै पारित भएको जानकारी पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरेको निर्णयमा उल्लेखित गरिएको छ । यही सन्दर्भमा सम्मेलनको प्रस्तावित बजेट अनुमोदन भएको र बजेटको आधा रकम काठमाडौं र ललितपुर महानगरपालिकाबाट र बाँकी रकम अन्य नगरपालिकाबाट ब्यहोर्ने निर्णय भएको पनि उल्लेख गरिएको छ । सार्वजनिक भएको निर्णयमा सम्मेलनको सचिवालय फोरमको कार्यसमितिले निर्णय गर्ने जानकारी पनि दिएको छ । विस्तारित बैठकमा सार्वजनिक भएको अर्को निर्णय अनुसार उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धमा सहलह भएको र बन्चरे डाँडा ल्याण्डफिल्ड साइट सम्बन्धमा सम्बन्धित स्थानीय तह धुनिबेसी नगरपालिका र ककनी गाउँपालिकाबाट समसयाको जानकारी दिएको पनि सार्वजनिक गरेको छ । उपत्यका नगरपालिका फोरमको विस्तारित बैठक पछि भएको पत्रकार सम्मेलनमा फोरमको अध्यक्ष काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका साथ मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, कीर्तिपुर नगरपालकाका मेयर रमेश महर्जन एवं विभिन्न नगरपालिकाका मेयर उपमेयरबाट पत्रकारहरुको प्रश्नको उत्तर दिनुभएको थियो । पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेका प्रश्नको उत्तरमा ३ नम्बर प्रदेशको नामांकन ‘बागमती प्रदेश’ राखेको सन्दर्भमा आफूहरुले केन्द्रको निर्णयलाई सदर गर्नुपर्ने स्थिति रहेको जानकारी फोरमका महासचिव मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले दिनुभएको थियो भने भिजिट नेपाल २०२० को सन्दर्भमा उपत्यका नगरपालिका फोरमको आयोजनामा २०२० अक्टोबर ७ देखि १० तारिखसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय मेयर सम्मेलनको आयोजना हुने जानकारी पनि सार्वजनिक गर्नुभएको थियो । त्यसैगरी, उपत्यकाको फोहोर मैला समस्यामा दीर्घकालीन रुपमा समाधान गर्ने पाईला चालिरहेको जानकारी दिदै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अब चाँडै नै फोहोर मैला व्यवस्थापनका समस्या समाधान हुने प्रतिबद्धता पत्रकार सम्मेलनमा जाहेर गर्नुभएको थियो । पत्रकार सम्मेलनमा उपत्यकाका विभिन्न क्षेत्रमा भइरहेको सडकको दुर्गति चाँडै नै समाधान हुने जानकारी सम्बन्धित नगरपालिकाका मेयर उपमेयरहरुले पत्रकारहरुलाई दिनुभएको थियो । उपत्यका नगरपालिका फोरमको विस्तारित बैठकमा आयोजक कीर्तिपुर नगरपालिकका मेयर रमेश महर्जनले उक्त फोरमबाट अब उपत्यकालाई सकारात्मक धरातलमा स्थापित गरी उपत्यकाका सम्पूर्ण नगर एवं नगरका जनताहरुलाई समृद्धिको अनुभूति गराउने विश्वास राख्दै पत्रकार सम्मेलनको समापन गुर्नभएको थियो । कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्काको पनि उपस्थिति रहेको थियो । ललेन्द्र शाक्य
Categorized in राष्ट्रिय