STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मञ्चनको तयारीमा दुई नाटक – ‘बुद्ध’ र ‘भिखारी’

Janjati Khabar | २०८० जेठ १०, बुधबार

काठमाडौँमा दुई नाटक मञ्चनको तयारी भइरहेको छ । त्रिपुरेश्वरस्थित कौसी थिएटरमा यही जेठ १२ देखि २८ गतेसम्म नाटक ‘त्रयम्’ र थापागाउँस्थित मण्डला नाटकघरमा जेठ १६ देखि ३२ गतेसम्म नाटक ‘बुद्ध’ र ‘भिखारी’ मञ्चन गरिने भएको छ ।
          
    काठमाडौँका एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक ‘त्रयम्’ मञ्चनको अन्तिम तयारीमा छ । एकअर्कासँग पटक्कै नमिल्ने स्वभावका तीन युवती नजिक हुन् नसके तापनि सँगै बस्न बाध्य छन् । आफ्नो रुचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा घट्ने घटनाक्रमले एकअर्काप्रतिको बुझाइमा ल्याउने परिवर्तन नै नाटकको सार हो ।
      
    नाटकले तीन युवतीको विगत कोट्याउँदै महिलाले दैनिक जीवनमा भोग्ने हिंसालाई रोचक ढङ्गले प्रस्तुत गर्नेछ । दिलीप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटकमा सङ्गीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यले शीर्ष भूमिका निर्वाह गर्नुभएको छ ।
      
    “लामो समयदेखि बोकिरहेको विषयले बल्ल मञ्चनको स्वरूप पाउँदैछ, नाटकमा उठिरहेका विषय मेरो नजिकका धेरै महिलाले भोगेका विषय हुन्, कतिले मलाई सुनाएका छन्, कतिले नभनी पनि मैले बुझेको छु, यो नाटकले तपाईंहरूको पनि मौनता तोड्न प्रेरित गर्नेछ”, निर्देशक रानाभाटले भन्नुभयो ।
          
    यस्तै, चुलाचुली थिएटरको प्रस्तुति रहेको ‘बुद्ध’ र ‘भिखारी’लाई चेतन आङ्थुपोले नाट्य रुपान्तरण तथा अनुवादन र परिकल्पना तथा निर्देशन अनिल सुब्बाले गर्नुभएको हो । “आफ्नो झुपडीमा मुसाहरूले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ खोज्दै बुद्ध खोज्न निस्किएको भिखारीले यात्राभरि गरेको सङ्घर्ष र रमाइलो पललाई नाटकमा प्रस्तुत गरिनेछ”, निर्देशक सुब्बाले भन्नुभयो ।

    नेपाली पौराणिक लोककथालाई नाट्यरुपान्तरण गरी ‘स्याडो प्ले’मार्फत मञ्चन गरिने निर्देशक सुब्बाले जानकारी दिनुभयो । कलाकार वेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा, गणेश ताण्डव, नवीनचन्द्र अर्याल, सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बू, सञ्जीव योगी, मनिष मगर, मोहन राईले नाटकमा अभिनय गर्नुहुने छ । रासस

Categorized in साहित्य-कला