STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मध्यरातमा सुर्खेतरोडमा आगलागी, ठूलो विनाश ट¥यो

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २४, शुक्रबार

नेपालगञ्ज सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा बिहीबार मध्यरातमा आगलागी भएको छ । गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् । राति ११ बजेबाट शुरु भएको आगलागी २ बजेतिर नियन्त्रणमा आएको थियो । प्रत्यक्षदर्शी सरोजकुमार चन्दका अनुसार नेपालगञ्जका दुई, कोहलपुरको एक र नेपालगञ्ज विमानस्थलमा रहेको एक गरी चार दमकललाई आगलागी नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो । “फर्निचर पसल रहेकाले आगो नियन्त्रणमा आउन गाह्रो भएको थियो”, प्रत्यक्षदर्शी चन्दले भन्नुभयो । चार दमकलसहित प्रहरीले करीब तीन घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीबाट करीब रु सातदेखि १० करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ, तर क्षतिको यकिन विवरण भने अध्ययनपछि मात्रै आउने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । “दर्जन बढी फर्निचर पसल जलेका छन्, अध्ययन नगरेरै वास्तविक क्षति कति भएको छ भन्ने थाहा हुँदैन, हामीले अहिले अनुमान मात्रै गरेका छौँ”, प्रहरी उपरीक्षक वलीले भन्नुभयो । फर्निचर पसलमा आगलागी भएपछि विपीचोक नजिकै घना बस्तीका बीचमा रहेको पेट्रोलपम्पमा आगलागी हुनबाट भने जोगाइएको छ । “पेट्रोलपम्पमा आलागी भएको भए नेपालगञ्जमा ठूलो विनाश निम्तिने थियो”, प्रहरी उपरीक्षक वलीले भन्नुभयो, “पम्पमा आगलागी हुन नदिन हामीले गरेको निरन्तर प्रयास सफल भयो । यसबाट पेट्रोलपम्पका साथै घना बस्ती ठूलो जोखिमबाट बचेको छ । हामीले ठूलो विनाशलाई टारेका छौँ ।” यसअघि मङ्गलबार नेपालगञ्ज–२ घरबारीटोलमा रहेका दुई कपडा पसलमा आगजनी हुँदा करीब रु दुई करोड बढीको क्षति भएको छ । आगलागीबाट प्रेरणा फेन्सी स्टोर र बडिमालिका अर्डर एण्ड सप्लायर्समा रहेका सबै सामान जलेर नष्ट भएका छन् । बडिमालिकाबाट शुरु भएको आगो छेउमा रहेको प्रेरणा फेन्सी स्टोरमा सल्किएको थियो । आगलागीपछि दमकल र सुरक्षाकर्मीले आगलागी नियन्त्रणमा लिएका थिए ।
Categorized in अपराध-दुर्घटना