मन्दिर निर्माण
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २९, आइतबार
धार्मिक पर्यटन वकास गर्न रामपुरमा रु दुई करोडको लागतमा वरुणेश्वर महादेवको मन्दिर निर्माण थालिएको छ । रामपुर नगरपालिका–५ स्थित चिप्लेढुङ्गामा कलात्मक, ऐतिहासिक, पित्तलको छानो भएको सो मन्दिर निर्माण गर्न लागिएको हो ।मन्दिरका लागि नगरपालिकाले रु २० लाख उपलब्ध गराएको छ । २० रोपनी जमीनमा फूलबारी, उद्यान र १०० तीर्थालु अटाउने धर्मशालासहितको मन्दिर निर्माण गर्न लागिएको समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले बताउनुभयो ।
“आफ्नै गतिमा बहेको बहखोलालाई दायाँ र बायाँ दुई स्थानमा बग्न दिने र बीचको भागमा कलात्मक खालको मन्दिर यस क्षेत्रकै नमूना मन्दिर हुने योजनाका साथ अघि बढेका छौँ”, उहाँले भन्नुभयो । प्रदेश सरकारको अर्थ र पर्यटन मन्त्रालयमा थप रकम निकासाका लागि योजना पेश गरिएकामा सकारात्मक जवाफ आएको बताइएको छ ।राष्ट्रिय गौरवकै आयोजना कालीगण्डकी करिडोर सडकसँगै जोडिएकाले यो सडक भएर मुक्तिनाथ, देवघाट, मानसरोवर जाने तीर्थयात्रुलाई पनि दर्शन गराउने उद्देश्यका साथ मन्दिर निर्माण शुरु गरिएको समितिका उपाध्यक्ष रामचन्द्र भट्टराईले बताउनुभयो । यही क्षेत्रमा भगवान् रामले त्रेतायुगमा तपस्या गरेकाले रामपुर क्षेत्रलाई विश्वसामु सुन्दर धार्मिक पर्यटकीय नगरीका रुपमा चिनाउने परिकल्पनाका साथ यहाँका स्थानीयवासी लागिपरेका छन् ।
विसं २०७५ जेठ ६ गते सोमबार बहखोला किनारमा शिवलिङ्ग फेला परेकाले पनि यो क्षेत्रलाई धार्मिक पर्यटकीय नगरीका रुपमा विकास गर्न स्थानीयवासी लागेका हुन् । शिवलिङ्गलाई स्थानीयवासीले पूजा गर्नाका साथै संरक्षण गर्दै आएका छन् । यसैगरी उक्त नगरपालिका–५ स्थित बेझाड बजार नजिकै भौतिक पूर्वाधारसहितको सुविधासम्पन्न रामजानकी मन्दिर निर्माण भइरहेको छ । रामचुलोको ऐतिहासिक तथा धार्मिक महत्व जोगाउन त्रेतायुगमा भगवान् रामले वनबास जाने क्रममा भात पकाएर खाएको रामचुलो परिसरमा रु १० करोडको लागतमा सो मन्दिर निर्माण भइरहेको हो ।
दुई तलाको मन्दिर, सत्तल, दुई भवनलगायत सुविधासम्पन्न विभिन्न भौतिक पूर्वाधार निर्माणका कार्य भइरहेको मन्दिर संरक्षण समितिका अध्यक्ष फणेश्वर गौतमले बताउनुभयो । “आन्तरिक तथा बाह्य धार्मिक पर्यटन विकासका गर्न, रामचुलोको ऐतिहासिक धार्मिक महत्वलाई बचाइराख्न रामचुलो परिसरमा मन्दिरसँगै विभिन्न भौतिक संरचना निर्माण गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । स्थानीयवासीको पहलमा विसं २०७१ माघमा श्रीमद्भागवत् धान्याचल ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो । सो महायज्ञबाट रु दुई करोड ४२ हजार नगद तथा जिन्सी सङ्कलन गरी मन्दिर निर्माण थालिएको समितिका सचिव गुरुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय


