मल्लकालमा कान्तिपुर इलाका कत्रो थियो ?
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २८, मंगलबार
डा. साफल्य अमात्य
मल्लकालमा कान्तिपुर इलाका कत्रो थियो र यसको विस्तार कसरी भयो भन्नेबारे बौद्धधर्मलम्वीहरुको अर्चा गुठीको सङ्घटनाबाट पनि थाहा पाइन्छ । यसै समयदेखि सम्पूर्ण कान्तिपुरलाई आर्चाय (अर्चा) गु्ठीको सङ्घटन गर्न र धार्मिक रीतिरिवाज चलाउन थथुपुइ, दथुपुइ, क्वगुपुइ र लाय्कुपुइ गरी जम्मा चार भागमा विभाजित गरिएको पाइन्छ । । पुइ भन्नाले नेपालभाषामा आआफ्नो गुठी वा परिवार भन्ने बुझिन्छ । थथुपुइ इलाकामा माथिल्लो टोलको क्वाःबहालदेखि असनचोकको मध्यभाग माछाको मुर्ति रहेको स्थानसम्म पर्दछ । दथुपुइमा असनको माछादेखि मखनटोलको सिहंढोकासम्म पर्दछ । क्वथुपुइमा तल्ला टोलहरु अर्थात् काष्ठमण्डपदेखि दक्षिणकोगीग्राम अथवा यंगलको सिमानासम्म पर्छ र लाय्कुपुइमा मखनको सिहंढोकादेखि काष्ठमण्डपसम्मको इलाका पर्दछ । यस विभाजले मल्लकालको उत्तरार्धको सीमा पर्खालभित्र रहेको कान्तिपुर शहरलाई पनि छुट्ठयाउँदथ्यो । थथुपुइलाई कोलीग्राम यम्बु र कान्तिपुर इलाकाभित्रको क्षेत्र माने तापनि रीतिरिवाज र धार्मिक दृष्टिकोणले यो बेग्लै इलाकाको मानिन्छ । मल्लकालमा सुर्वणप्रणाली महनगर भनी चिनिने यस इलाकाको नाम ठहितिको प्राचीन सुनधारा(सुर्वणप्रणाली) बाट रहन गएको भन्ने बुझिन्छ । यो सुनधारा मल्लकालमा नै पुरी नें.सं. ५५२ (विं.संं. १४८९) मा त्यसमाथि हाल देखा परिरहेको ठहिटिको चैत्य बनाइएको देखिन्छ । लाय्कुपुइ भन्नाले हनुमानढोका दरबारको सेराफेरो इलाका भन्ने बुझिन्छ । यो प्राचीन कोलीग्राम र िदक्षिणकोलीग्रामको बीचमा पर्ने इलाका हो । बौद्धधर्मलम्बीहरुको अर्चागुठी वास्तवमा यी चार इलाकाका चारवटा गुठिहरुको एउटा वृहत (संयुक्त) सङ्घटन हो । थथुपुइको अर्चापुइको अर्चागुठीमा क्वाःबहाः, झ्वाःबहाः ध्वाकाबहाः र गमबहाःका अर्चागुठीहरु पर्दछन् । दथुपुइमा इतुंबहाः, जनबहाः, तक्षबहाः, मुबहाल, सबलबहाः , टेबहाः र मखनबहाःका अर्चागुठीहरु पर्दछन् । लाय्कुपुइभित्र सिकमुबहाः एउटै मात्र र क्वथुपुइमा गुबाबहाः, मिखाबहाः, इकुबहाः, लगनबहाः, र मुसुंबहाः पर्दछन् ।
(डा. साफल्य अमात्यको काठमाण्डौ नगरायण पुस्तकको अशंबाट साभार )
Categorized in राष्ट्रिय