महरीमा बत्ती
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार
पातारासी गाउँपालिकाको महरी गाउँमा बिजुली बलेको छ । उक्त गाउँमा रहेका ४२ घरधुरी झलमल भएका छन् । गाउँमा पहिलो पटक बिजुली बलेपछि त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । दियालोको भरमा रात बिताउने गरेका स्थानीयवासीले पहिलो पटक बिजुली बाल्न पाएका हुन् । रु ७० लाखको लागतमा ६ किलोवाट बिजुली उत्पादन गरिएको हो । बिजुली परीक्षणका क्रममा रहेकाले अझै क्षमता बढ्न सक्ने अनुमान गरिएको छ । गाउँमा २४ सै घण्टा स्थानीयवासीले बिजुली बाल्न पाउने भएका छन् ।
स्विट्जरल्याण्ड र अमेरिकाको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण एकीकृत विकास सेवा नेपाल जुम्लाको सहजीकरणमा महरी गाउँमा बिजुली बालिएको हो । गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बिजुलीको उद्घाटन गर्दै बिजुली उज्यालो पार्नका लागि मात्र नभई अन्य काममा पनि प्रयोग गर्न सुझाव दिनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बिजुली गाउँमा पुग्नुमा स्थानीयवासीको सक्रियता र दाताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
ग्रामीण एकीकृत विकास सेवा नेपाल जुम्लाका जिल्ला कार्यक्रम संयोजक हरिपाल नेपालीले विद्युत्गृहको रेखदेख र संरक्षण गर्ने दायित्व स्थानीयवासीको भएको बताउनुभयो । सो अवसरमा रिड्स नेपालका अन्तरराष्ट्रिय निर्देशक डा आलेग्स जाहान्टले तातोपानी प्रणालीको उद्घाटन गर्नुभयो । गाउँमा बिजुली बढी भएकाले बिजुली खपत गर्नका लागि ५० जनाले एक दिनमा नुहाउन तातोपानी आउने व्यवस्था पनि मिलाइएको छ ।
Categorized in राष्ट्रिय


