STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महानगरद्वारा दूधको अनुदानमा चार गुणा वृद्धि

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ११, बुधबार

भरतपुर महानगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई दिँदै आएको अनुदानमा चार गुणा वृद्धि गरेको छ । महानगरले प्रतिलिटर २५ पैसा अनुदान दिँदै आएकामा आउँदो आर्थिक वर्षबाट प्रतिलिटर रु एक अनुदान दिने भएको छ । महानगर प्रमुख रेणु दाहालले नीति तथा कार्यक्रममा समावेश गरेर दूधको अनुदानमा वृद्धि गरिएको जानकारी दिनुभयो । कृषकलाई दुग्ध उत्पादनतर्फ अभिप्रेरित गर्न सहयोग पु¥याउने उद्देश्यले अनुदान बढाइएको उहाँको भनाइ छ । स्थानीय तहको निर्वाचन भएलगत्तै गत आवको छ महीनाका लागि दूधमा अनुदान दिइएको थियो । महानगरको पशु सेवा शाखामा कार्यरत डा सन्तोष घिमिरेका अनुसार चालू आवका लागि आव्हान गरिएको सूचनाका आधारमा ४४ वटा सहकारीमार्फत रु ३४ लाख ५० हजार २२६ अनुदान वितरण गरिएको छ । गत वर्ष सहकारीमार्फत दूध बिक्री गरेका कृषकलाई चालू आवमा अनुदान दिइएको हो । गत आवमा छ महीनाको रु १६ लाख ७४ हजार ६८० अनुदान दिइएको थियो । नगर प्रमुख दाहालले कृषि क्षेत्रको प्रवद्र्धनका लागि यान्त्रीकरणको विषयलाई प्रथमिकतामा राखिएको जानकारी दिँदै यसका लागि आवश्यक पर्ने यन्त्र पहिचान, खरीद, सञ्चालन तालीम व्यवस्थापनजस्ता कार्य गर्न निजी, सहकारी तथा सामुदायिक क्षेत्रसँगको सहकार्यमा युनिट स्थापना गर्न लागिएको बताउनुभयो । फलफूल, तरकारी, माछा च्याउ केराजस्ता कृषि उत्पादनको विकासका लागि सम्भाव्यता अध्ययन गरी पकेट क्षेत्र घोषणा गरिने प्रमुख दाहालले बताउनुभयो । कृषकलाई बैंकमा लाग्ने ब्याजमा अनुदान दिइने, सहकारीमार्फत कोसेली घर स्थापना गर्न प्रोत्साहन गरिने, बीउबिजन र मलमा अनुदान दिने, लागत मूल्यभन्दा कममा उत्पादन बिक्री गर्नुपर्ने बाध्यता हटाउन पहल गर्ने, विषादी न्यूनीकरण गर्ने, पशुको नश्ल सुधारका लागि कृतिम गर्भाधान कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिने, आधुनिक पशु बधशाला निर्माण गरिने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।
Categorized in राष्ट्रिय