महिलाको समानुपातिक सहभागिता आवश्यक – शाक्य
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ६, मंगलबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसद सुजिता शाक्यले राज्यका हरेक निकायमा महिलाको समानुपातिक सहभागिता सुनिश्चित गर्नको लागि महिला एकजुट हुनुपर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशन महिला विभाग कास्कीद्वारा आज पोखरामा आयोजित समृद्धिमा महिला विषयक विचार गोष्ठी कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभाका महिलाको सहभागिता सन्तोषजनक भएता पनि प्रशासनिक, सुरक्षा निकायमा भने महिलाको प्रतिनिधित्व सन्तोषजनक नभएको बताउनुभयो । उहाँले कूटनीतिक, सार्वजनिक सेवा क्षेत्र, वित्तीय, स्वास्थ्य र शिक्षा क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता पर्दा महिलाले सीप, दक्षता र क्षमता बढाएर पदपूर्ति गर्नुपर्ने बताउनुभयो । नेत्री शाक्यले स्थानीय, प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका महिलाले प्रतिस्पर्धी क्षमता बढाएर अवसरको सदुपयोग गर्न अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । नेकपाका केन्द्रीय सदस्य तथा कास्कीका सहइञ्चार्ज भीम कार्कीले सङ्घीय संरचनापश्चात महिलाको अधिकारलाई विस्तारै स्थापित गर्दै लगेको बताउनुभयो । नेकपा कास्कीका अध्यक्ष तथा गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाले सामाजिक न्याय र समृद्धिका लागि हरेक क्षेत्रमा महिलाको समान सहभागिताको अपरिहार्यतामा जोड दिनुभयो । कार्यक्रममा सहकारीकर्मी भीम गुरुङ, मदन भण्डारी फाउण्डेशन कास्कीका अध्यक्ष माधव बाँस्तोला, जिल्ला कमिटीका सदस्य तथा महिला विभाग प्रमुख हीरा गिरी, महिला विभागका सदस्य पार्वती कार्की, सीता विश्वकर्मालगायतले विचार गोष्ठीमा आफ्नो धारणा राख्नुभएको थियो ।


