STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महिलाप्रतिको दृष्टिकोण सुधारौँँ

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २४, मंगलबार

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले महिला हिंसा अन्त्यका लागि समाजले महिलाप्रतिको दृष्टिकोण सुधार्नुपर्नेमा  जोड दिनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आज बुटवलमा आयोजना गरेको ‘महिला हिंसा न्यूनीकरण, मानवअधिकार संरक्षण एवं सुरक्षामा नेपाल प्रहरीको जवाफदेहिता’ विषयक कार्यक्रम शुभारम्भ गर्दै  उहाँले महिला हिंसा न्यूनीकरणका सामाजिक क्रियाकलामा सुधार गर्न सामूहिक प्रयास आवश्यक भएको बताउनुभयो । 
महिला हिंसा न्यूनीकरणका लागि प्रहरी मात्रैले नसक्ने भएकाले समाज, मानव अधिकारका पैरवीकर्ता, राज्य र न्यायिक क्षेत्रलाईसँगै लिएर हिँड्नुपर्ने धारणा व्यक्त गर्दै  मुख्यमन्त्री पोखरेलले न्यायिक क्षेत्र संवेदनशील हुन नसके प्रहरीको अनुसन्धान मात्र काम नलाग्ने  तर्क गर्नुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सुरक्षा निकायले तहगत जिम्मेवारीलाई व्यवस्थित ढङ्गले निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक विकासमन्त्री सुदर्शन बरालले सामाजिक मूल्य मान्यता, धर्म र संस्कारका कारण समाज महिलामैत्री बन्न नसकेको बताउनुभयो । 
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले मुलुकमा महिला हिंसाका अवस्था दयनीय रहेकाले यस्ता घटना न्युन गर्न र  मानवअधिकारलाई सुदृढ गर्न आयोगले देशव्यापी अभियान चलाएको बताउनुभयो ।
प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले मानव अधिकार संरक्षण एवं सुरक्षाका सवालमा प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । आयोगका प्रदेश नं ५ का निर्देशक सम्झना शर्माले ‘महिला मानवअधिकार संरक्षणमा राष्ट्रिय मानवअधिकार आयोगको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । आयोगले महिला हिंसा न्यूनीकरण र मानवअधिकार संरक्षणका लागि प्रदेश नं७ को महेन्द्रनगरबाट थालेको अभियान सातवटै प्रदेशमा सञ्चालन गरिने जनाएको छ । 
Categorized in राष्ट्रिय