STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महिला सफाइ मजदुरहरुलाई महिनावारी स्वच्छता सामग्री वितरण

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १५, बिहिबार

काठमाडौं – गैर सरकारी संस्था गुथि र एरोशान नेपालको पहलमा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका अन्तर्गत अनौपचारिक क्षेत्रमा काम गर्ने ३ सय सफाइ मजदुरलाई महिनावारी स्वच्बछता सामग्री वितरण गरियो । उक्त अवसरमा महिला पत्रकारहरुलाई पनि महिनावारी स्वच्छता सामग्री उपलब्ध गराइएको थियो । समारोहमा बोल्दै काठमाडौ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले महिनवारी आफैमा महिलाहरुको एक मात्र पहिचान भएको, पुरुषहरुले चाहेर पनि सन्तान जन्माउन सक्दैनन् तसर्थ महिनावारी हुनुमा गर्व गर्नुपर्छ । महिनावारीलाई लुकाएर होइन खुलेर कुरा गरौं र महिलाहरुको प्रजनन स्वास्थ्यसँग सरोकार राख्ने भएको हुँदा महिनावारी लाई उचित व्यवस्थापन र सरसफाईमा ध्यान दिनुपर्ने कुरामा खड्गीले जोड दिएका थिए । ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले महिला पत्रकारहरुको महामारीको अवस्थामा महिनावारी स्वास्थ्यमा सम्बेदनशील हुनुपर्ने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । महामारीको अवस्थाले लकडाउन भएको बेलामा महिला पत्रकारहरु फिल्डमा खटिँदा महिनावारी व्यवस्थापन सहज होस् भन्ने हिसाबले महिनावारी स्वच्छता सामग्री उपलब्ध गराइएको सत्यालले जानकारी दिएका थिए । अहिलेको लकडाउनको समयमा महिनावारी सामाग्रीको उपलव्धता विषयमा गुथि र एरोशानले गरेको ‘‘महामारीमा महिनावारी’’ नामक सर्वेक्षणले बजारमा सेनेटरी प्याडको उपलब्धतामा केही अनिश्चितता रहेको देखाएको छ । सर्वेक्षणका अनुसार हालसम्म धेरै महिलाले घरमै बाँकी रहेको प्याड प्रयोग गरिरहेकाले अहिलेसम्म धेरै समस्या नदेखिएको तर बजारमा प्याड किन्न खोज्ने महिलाहरुले भने महँगोमा प्याड किन्न परेको, आफुले रुचाएको ब्राण्ड नपाएको र कसैले किन्नै नपाएको पनि अवस्था रहेको देखाएकोे छ । हालसम्म प्याडको उपलब्धतामा समस्या नभोगेका महिलामा पनि लकडाउन बढ्दै गएको अवस्थामा घरको प्याड सकिने र बाहिर बजारमा प्याड नपाउने डर रहने गुथिले जनाएको छ । महिनावारीमा चाहिने सेनेटरी प्याड अत्यावश्यक बस्तुको सुचीमा सरकारले नराखेका कारण यसको उत्पादन, ढुवानी र वितरण रोकिएको र यसले बजारमा प्याडको उपलब्धतामा समस्या ल्याएको एरोशानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यको भनाइ थियो । यस कार्यक्रम मार्फत कुल एक हजार थान महिनावारी स्वच्छता किट सरसफाइ मजदुलाई बाँडिएको थियो जस्मा सेनटरी प्याड, साबुन, पञ्जा, मास्क, बाल्टिन आदि सामाग्री संलग्न छ । यस कार्यक्रमले पुरुषमा पनि महिनावारी सम्बन्धि जनचेतना जगाउने प्रयास भयो । सरसफाईकर्मीहरुको समुह संयुक्त सरसफाई जागरणकी प्रतिनिधि र सरसफाइकर्मी माया तामाङका अनुसार हाल लकडाउनका समयमा सरसफाइ मजदुर महिलाहरुले महिनावारीका समय धेरै दुख खेप्नु परिरहेको बताए । ‘‘सरसफाईको काम गर्दा महिनावारीको समयमा पटक पटक प्याड फेर्नुपर्छ तर यसका लागि काम गर्ने ठाउँमा शौचालय छैनन् । अहिले छाक टार्नै धौ धौ भएको समयमा प्याड किन्न झन गाह्रो छ,” उनले बताए । ‘‘हामीलाई काम गर्न जाँदा पनि ठाउँ ठाउँमा मान्छेहरुले हामीलाई नआऊ भन्छन् । प्याड किन्न जाँदा पनि कि त पसलै बन्द हुन्छ, खुलेको पसलमा पनि प्याड महँगोमा किन्नु पर्छ,’’ प्याड वितरण कार्यक्रमले सरसफाइकर्मीलाई धेरै सहज बनाउने हुँदा यस कार्यलाई तामाङले सह्रानीय भएको बताए । महिनावारी व्यवस्थापनका लागि चाहिने सामग्री जस्तै प्याड महिलाहरुको लागि अत्यावश्यक सामग्री हुन् । युनिसेफको रिपोर्टका अनुसार पनि कोभिड लकडाउनले महिनावारीमा पनि अप्रत्यक्ष प्रभाव पार्ने र यसले गरिब र सीमान्तकृत समुदायमा धेरै असर पारिरहेको छ । यसै कारण सरसफाइकर्मीको नाजुक अवस्थालाई ध्यानमा राख्दै यो महिनावारी स्वच्छता सामग्री वितरण गरिएको गुथिले जनाएको छ । यसैक्रममा राष्ट्रिय पानी संरक्षण र स्वच्छता दिवस– सिथि नखः र अन्तराष्ट्रिय महिनावारी दिवस २८ मे को दिन नेपालका लोकप्रिय हास्य जोडी मह (मदन कृष्ण श्रेष्ठ र हरिवँश आचार्य) ले ‘‘महिनावारी हुँदा रुडीबादी परम्परामा होइन आफ्नो स्वास्थ्य स्वच्छता र सरसफाईमा ध्यान दिऔ । यस महिनावारी स्वच्छता दिवसको दिन हामी सबैले आफ्नो समाजबाट महिनावारी सम्बन्धि अन्धविश्वास हटाउने प्रयास गरौ ।’’ भनी सामाजिक सञ्जालमार्फत आह्वान पनि गरेका थिए ।
Categorized in राष्ट्रिय