STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महेश्वर जुजुको ‘नेपाल आँखाको नानी हो’ सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ पौष ७, बुधबार

नेपाली समाजमा आयातित संस्कृतिका कारण मौलिक संस्कृति हराउँदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । राजोपाध्याय समाजबाट ललितपुर मंगलबजार दरवार परिसरको मणिकेशव नारायण चोकमा आयोजित एक कार्यक्रमका वक्ताहरुले विदेशी संस्कृतिको प्रभाव नेपाली समाजमा बढ्दै गएको अवस्थामा यहाँको मौलिक संस्कृतिको अस्तित्व संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । 

कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले नेपाली मौलिक संस्कृतिमा लुकेको जीवन दर्शनले समाजलाई सभ्य र सुसंस्कृत बनाउने विचार राख्दै अहिले आयातित संस्कृतिमा समाज रुमल्लिँदा समस्या बढेको दावी गरे । ‘नेपालमा विदेशी च्यानलको प्रभाव बढेसँगै विदेशी संस्कृति पनि हावी हुँदै गएको छ । यसैकारणले अहिलेको युवा पुस्ताले नेपाली संस्कृति बिर्सिन थालेका छन्’, मन्त्री श्रेष्ठको भनाई हो, ‘हामीले आफ्नो संस्कृतिको मौलिकतालाई बुझेर, यसको दर्शनलाई जानेर अघि बढ्नु आवश्यक छ ।’

कार्यक्रममा मन्त्री श्रेष्ठले तन्त्रविद् महेश्वर जुजु राजोपाध्यायबाट लिखित पुस्तक ‘नेपाल आँखाको नानी हो’ र नव साहित्यकार नीलप्रभा राजोपाध्यायबाट लिखित ‘आमा’ पुस्तकको लोकार्पण गर्नुभएको थियो । पुस्तक लोकार्पण पछि आफ्नो पुस्तकको विषयवस्तुबारे प्रकाश पार्दै तन्त्रविद् जुजुले वैदीक परम्पराको नाममा नेपाली समाजमा कौल परम्परा लोप हुँदै गएको बताउनुभयो । वर्तमान समयमा मन्त्रोच्चारण गर्ने वैदीक परम्परालाई प्राथमिकतामा राखिँदा देवीदेवतासँग साक्षात्कार गर्ने तन्त्रको व्यवहारीक पक्षबाट टाढिएको जुजुको भनाई हो । ‘हाम्रो संस्कृतिले व्यवहारमा जोड दिएको छ, तर हामीले त्यो बिर्र्सँदै गएको छौं । हामी वेद पाठमै मात्र किन रमाउँछौं, तान्त्रिक विधिव्यवहार हाम्रो संस्कृतिको मौलिकता हो भन्ने नबिर्सौं’ जुजुले भन्नुभयो ।

नव साहित्यकार नीलप्रभाले आफ्नी दिवंगत आमाको सम्झनामा आफुले लेखेका शब्दहरुले अहिले आमा पुस्तकको रुप लिएको बताउनुभयो । कार्यक्रममा राजोपाध्याय समाजका अध्यक्ष संजय शर्मा राजोपाध्याय, संस्थापक अध्यक्ष वदन ज्वालानन्द राजोपाध्याय र उपाध्यक्ष रचना शर्मा राजोपाध्यायले समाजको गतिविधिहरुको बारेमा जानकारी गराउँदै समाजको हक, अधिकार र पहिचान स्थापित गर्न क्रियाशिल रहने कुरामा जोड दिएका थिए । 

तन्त्रविद् जुजुबाट लिखित पुस्तक ‘नेपाल आँखाको नानी हो’ राजोपाध्याय समाजले प्रकाशन गरेको हो । प्रकाशित पुस्तकको मूल्य दुई सय रुपैयाँ राखिएको छ ।

Categorized in साहित्य-कला