STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महोत्सवको आम्दानी मानव सेवा आश्रमलाई

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २२, मंगलबार

बागलुङमा सञ्चालित मानव सेवा आश्रमलाई बागलुङ उद्योग वाणिज्य सङ्घले रु दुई लाख सहयोग प्रदान गरेको छ । आश्रमले सडक बालबालिका, अनाथ, असाहय तथा उपेक्षामा परेका व्यक्तिको संरक्षण गर्दै आएको छ । महोत्सव अवलोकन गर्न आएका दर्शकले खरीद गरेका टिकटबाट उठेको रकमबाट आश्रमलाई सहयोग गरिएको सङ्घका महासचिव नरेश कँडेलले जानकारी दिनुभयो “महोत्सवमा आम्दानी भएको रकमले उद्योग वाणिज्य सङ्घले सामाजिक परोपकारी काम गर्ने उद्देश्यसमेत राख्दै आएका छौँ”, उहाँले भन्नुभयो, “बेसहाराको सहारा बनेको आश्रमलाई सहयोगले राहत मिल्नेछ ।” महोत्सव अवधिभर आश्रमका सहयोगी तथा सुभेच्छुकले टिकट बिक्री गर्नमा महोत्सव आयोजकलाई सहयोग गरेको मानव सेवाका अभियन्ता सुमिरा लामाले जानकारी दिनुभयो । महोत्सव अवलोकनका लागि साधारण प्रतिटिकट रु ८० र विद्यार्थीका लागि रु ५० राखिएको थियो । बागलुङ नगरपालिका–३ मा तीन वर्षदेखि आश्रम सञ्चालन हुँदै आएको छ । सङ्घका अध्यक्ष युवराज राजभण्डारीले महोत्सवको आम्दानीबाट धवलागिरी बहुमुखी क्याम्पसमा रु पाँच लाखको शैक्षिक अक्षयकोष स्थापना, रु पाँच लाखको शैक्षिक सामग्री, क्याम्पस प्राङ्गणमा सौर्यबत्ती जडान, रु दुई लाखको आर्थिक पत्रकारिता पुरस्कार स्थापना तथा बागलुङ बजारका सिसी क्यामेराको मर्मत गर्ने योजना रहेको जानकारी दिनुभयो । महोत्सव अवधिभर करीब रु ४० लाख बराबरको टिकट बिक्री भएको टिकट संयोजक दीपक हमालले जानकारी दिनुभयो । यही पुस ११ गतेदेखि २१ गतेसम्म बागलुङ महोत्सव–२०७६ सञ्चालन भएको थियो । अहिले आश्रममा ज्येष्ठ नागरिक, महिला, बालबालिका गरेर ५० जनाले आश्रय लिएर बसिरहेका छन् ।
Categorized in राष्ट्रिय