STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

माफियाले जग्गा हडप्दा ३०० वर्ष पुरानो गोकर्णेश्वर खट जात्रा सङ्कटमा

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २४, बिहिबार

काठमाडौँ - भूमाफियाले गुठीको जग्गा कब्जा गर्दा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा ३०० वर्षदेखि चल्दै आएको भगवान् शिवको तामाको खट बोक्ने जात्रा सङ्कटमा परेको छ ।

गोकर्णेश्वर नगरपालिका–४ माकालबारीस्थित शिवरात्रि जात्रा गुठीका नाममा रहेको तीन रोपनी दुई आना जग्गा भूमाफियाले कब्जा गरी फुटसल चलाउन थालेपछि विसं १८०१ मा चलेको जात्राको अस्तित्व सङ्कटमा परेको गोकर्णेश्वर महादेव मन्दिरका पुजारी सुरेश भट्टले बताउनुभयो ।

विसं १८०१ मा रतनधर भारीले जग्गा छुट्याएर जात्रा सुरु गरेको अभिलेख छ । गोकर्णेश्वर एक ‘क’ को शिवरात्रि जात्रा गुठीको जग्गाको आयस्ताले वर्षमा दुईपटक जात्रा चलाउने गरिन्थ्यो । महाशिवरात्रिको भोलिपल्ट र गोकर्णे औँसीको भोलिपल्ट चलाउने गरिएको जात्रा भूमाफियाले जग्गा कब्जा गरेपछि सञ्चालनमा अप्ठ्यारो हुन थालेको गोकर्णेश्वर–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले सुनाउनुभयो ।

शताब्दीयौँ पुरानो जात्रा रोक्नुहुन्न भनी स्थानीय सरकार र स्थानीयवासीको सहयोगमा मात्र परम्परालाई निरन्तरता दिइएको छ । पाँच जना गुठियार रहेकामा नापीको फिल्ड बुकमा गोकुलदास श्रेष्ठको मात्र नाम उल्लेख भएका कारण भूमाफियालाई जग्गा कब्जा गर्न सजिलो भएको हो । हाल गोकुलदासको निधन भइसकेको छ । उहाँका छोरा मङ्गलदासलाई उपयोग गरी जग्गाको चलखेलमा लाग्ने समूहले कब्जा गरेको हो । 

विगतमा खेतको आयस्ता धानले गुठियारलाई भोज खुवाउने गरिन्थ्यो । खट बोक्ने र बाजा बजाउनेलाई पनि धान दिइन्थ्यो । माकालबारी क्षेत्रमा धान रोपाइँ हुन छाडेसँगै जग्गामा भूमाफियाको आँखा लागेको हो । हाल जया देवकोटा मेमोरियल कलेजका संस्थापक जगन्नाथ देवकोटाले जग्गा भाडामा लिएर फुटसल चलाएको पुजारी भट्टले बताउनुभयो । यस विषयमा देवकोटासँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उहाँ अमेरिकामा रहनुभएकाले सम्भव हुन सकेन ।

गुठी जग्गासम्बन्धी मुद्दा भूमिसुधार र जिल्ला अदालतमा परी गुठियार अर्थात् महादेवका पक्षमा फैसला गरिएको थियो । उच्च अदालतको जग्गा हडप्नेका पक्षमा फैसला गरेपछि गुठी संस्थान र गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समिति सर्वोच्च अदालत गएका छन् ।

जग्गाको भाडा रकम गुठियारमध्येका मङ्गलदासले मात्र लिने गरेकाले जात्रा चलाउन अप्ठ्यारो भएको हो । भाडा गुठीका नाममा राखी सांस्कृतिक परम्परालाई निरन्तरता दिनुपर्ने माग गुठियारको छ । खट बोक्ने, बाजा बनाउनेलगायतलाई भोज खुवाउने बजेटको अभावमा ३०० वर्षदेखिको परम्परा निरन्तरता दिन अप्ठ्यारो भएको हो ।

राणाकालको समयमा विसं २००४ को नापीमा यो जग्गा गोकर्णेश्वर महादेवको नामको गुठी उल्लेख गरिएको छ । साविक गोकर्णेश्वर गाविस–१ को यो जग्गा हाल गोकर्णेश्वर नगरपालिका–४ मा पर्छ । रासस

Categorized in उपत्यका