मुक्कुमलुङ संरक्षण आन्दोलन फेरि चर्किने, विरोध कार्यक्रम घोषणा
Janjati Khabar – Janjati Khabar | २०८२ जेठ ७, बुधबार
काठमाडौँ - उपनिवेशीकरण, अतिक्रमण, मानवअधिकार उल्लङ्घन र जबर्जस्ती विकास योजनाविरुद्ध मुक्कुमलुङ क्षेत्रमा चल्दै आएको संरक्षण आन्दोलन फेरि चर्किने भएको छ । मुक्कुमलुङ ताङसेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय राजनीतिक दलहरूले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनका पछिल्ला चरण र आगामी कार्यक्रमबारे पत्रकार सम्मेलनमा जानकारी दिए । महतोका अनुसार मुक्कुमलुङ क्षेत्रका विभिन्न स्थानमा राज्य र केबलकार पक्षधरहरूको मिलेमतोमा भिजलान्ते हिंसा, गोलीकाण्ड र गिरफ्तारीजस्ता गम्भीर मानव अधिकार उल्लङ्घन भएका छन् ।
विशेषगरी २०८१ सालमा चन्द्र मादेन र अर्जुन पराङदेनमाथि खुकुरी आक्रमण, बलुडाँडामा भएको गोलीकाण्ड र फुङलिङ काण्डजस्ता घटनाहरूले आन्दोलन थप उग्र भएको जनाइएको छ ।
संरक्षण पक्षधरहरूले सरकारसँग बारम्बार संवादको पहल गरे पनि सरकारले गम्भीरतापूर्वक नलिएको र सहमति तोडेको आरोप लगाएका छन् । २०८१ माघ २२ गते भएको ६ बुँदे समझदारीपछि उच्चस्तरीय वार्ता हुने सहमति भए पनि सरकारले वार्ता टोली नै नबनाएको आन्दोलनकारीहरूको आरोप छ ।
यसै सन्दर्भमा आन्दोलनकारीहरूले २०७७ माघ २९ गते सर्वोच्च अदालतमा पाथीभरा केबलकार प्रालि र सरकारविरुद्ध रिट दायर गरेका थिए । उक्त मुद्दा हालसम्म विचाराधीन छ भने सर्वोच्च अदालतले केबलकार निर्माणसँग सम्बन्धित संरचनामा अन्तरिम आदेश जारी राखेको छ । अदालतको यो आदेशलाई गलत व्याख्या गर्दै केबलकार पक्षधरहरूले काम थाल्ने तयारी गरिरहेको मुक्कुमलुङ संरक्षण पक्षधरले पत्रकार सम्मेलनमा जनाए ।
अन्तरदलीय संघर्ष समितिले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘केबलकार निर्माणको काम अघि बढाए जनताको प्रतिरोध अपरिहार्य हुनेछ र त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी सरकारले लिनुपर्छ ।’
अन्तरदलीय संघर्ष समितिले आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ । घोषित सङ्घर्षका कार्यक्रम यस्ता छन्–
–२०८२ जेठ ३१ र असार १ गते मुक्कुमलुङ संरक्षण वृक्षारोपण–२ कार्यक्रम गरिने ।
–इम्बिरी याङधाङवा (तमोर खोला) क्षेत्रको स्थलगत अध्ययन गरी त्यहाँ प्रस्तावित हाइड्रो पावर योजनाको प्रभाव मूल्याङ्कन गर्दै थप कदम चालिने ।
–युएनसहितका अन्तर्राष्ट्रिय निकायमा जानकारी पुर्याउने र विगतमा भएका निर्णयअनुसार धर्ना तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने ।
संघर्ष समितिका अनुसार मुक्कुमलुङ क्षेत्र धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा आध्यात्मिक महत्त्वको स्थल भएको हुँदा त्यसलाई अतिक्रमण र व्यावसायीकरणबाट जोगाउनु आन्दोलनको मूल उद्देश्य रहेको पत्रकार सम्मेलनमा जनाइएको छ ।
सरकार र केबलकार पक्षधरहरूबिचको मिलेमतो, जनताको आवाजप्रतिको उपेक्षा र विकासका नाममा हुने सांस्कृतिक संहारविरुद्ध आन्दोलन अब थप व्यापक र अन्तर्राष्ट्रियकरण हुने बताइएको छ ।
Categorized in राष्ट्रिय

