मोटरेबल पुल अलपत्र, जोखिम मोलेर काठेपुल वारपार
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १७, मंगलबार
ठुलीभेरी नगरपालिका–९ मा पर्ने रुपगाडखोलामा पुल निर्माणकार्य अलपत्र परेको छ । जिल्ला प्राविधिक कार्यालयले रेखदेख गर्ने गरी तीन वर्षअघि शिलान्यास गरिएको पक्की पुल विषयगत कार्यालयको खारेजीसँगै निर्माणकार्य अलपत्र परेको हो ।
लामो समयदेखि निर्माणकार्य अलपत्र भएपछि सवारीसाधन तथा पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ । पुल नबन्दा सदरमुकाम दुनै तथा उपल्लो डोल्पामा विभिन्न पर्यटकीय सम्पदा अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई जोखिम मोलेर जीर्ण काठेपुल तर्नुपर्ने बाध्यता छ ।
निर्माण शुरु गरिएको तीन वर्ष बितिसक्दा पनि राम्रोसँग पहिलो चरणको काम पनि सम्पन्न भएको छैन । कामको नाममा मोटरेबल पुलको दुवैतर्फ पिलर खडा गर्ने काममात्रै भएको छ । पुल निर्माणका लागि एक वर्षभित्रै निर्माणकार्य सम्पन्न गर्ने गरी बोलपत्रमार्फत विसं २०७३ मा सञ्जीवनी कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर गौरी उप्रेतीले ठेक्का लिनुभएको थियो ।
उप्रेतीले डेढ वर्षभित्र पुल निर्माणकार्य पूरा गर्ने सम्झौतासहित कामको सम्पूर्ण जिम्मेवारी डोल्पाका ठेकेदार हिम बुढालाई दिनुभएको थियो । आफूले जिम्मा लिइसकेपछि पेश्कीस्वरुप करीब रु एक करोड हाराहारीमा रकम निकासा भएको र सो रकम स्थानीयस्तरमै ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन तथा पुलको दुवैतर्फको पिलर खडा गर्ने काममा ठिक्क भएको बुढाले बताउनुभयो ।
जिल्ला प्राविधिक कार्यालय खारेजी भइसकेपछि दोस्रो चरणको कामका लागि रकम निकासा नभएपछि लामो समयदेखि पुल निर्माणको काम रोकिएको बुढाले बताउनुभयो । तत्कालीन जिविसबाट पुल निर्माण शीर्षकमा रु दुई करोड ७० लाखभन्दा बढी रकम भुक्तानी लिइसकेको बताइन्छ । तर निर्माण पक्षले रु एक करोड हाराहारीमा मात्रै रकम निकासा भएको र बाँकी रकम फ्रिज भएको बताउँदै आएको छ । जिल्ला प्राविधिक कार्यालयको खारेजीसँगै जिम्मेवारी प्रष्ट हुन नसक्दा पुल निर्माणकार्य अलपत्र परेको स्थानीय निर्माण व्यवसायी बुढाको भनाइ छ ।
Categorized in राष्ट्रिय


