STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मोतियाफाँटा अझै बनेन नमूना बस्ती

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ३, बिहिबार

भारतसँग सीमा जोडिएको मुक्त हलिया बसोबास गर्ने कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ मोतियाफाँटा बस्ती अझै नमूना गाउँ बन्न सकेको छैन । बस्तीमै आएर यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले गरेको वाचा पूरा भएको छैन । खानेपानी, बस्नका लागि आवास, आवतजावतका लागि सहज सडकको व्यवस्था हुन सकेको छैन । रोजगारीको व्यवस्था नहुँदा अधिकांश बासिन्दाले तीन महिना भारतीय ऊखु फार्ममा थोरै ज्यालामा काम गर्दै आएका छन् । जसबाट ती परिवारको जेनतेन खर्च चल्ने गरेको छ । बस्तीमा बाजुरा, बझाङ, दैलेख र सुर्खेतलगायतक्षेत्रका मुक्त हलिया परिवारको यहाँ बसोबास छ । बस्तीमा बस्दै आएका परिवारसँग पहाडमा स्वामित्वको जग्गा नभएपछि जग्गाकै खोजीमा यस क्षेत्रमा पुगेका थिए । केही परिवार विसं २०५३ देखि नै यस क्षेत्रमा बस्न शुरु गरे पनि धेरै परिवार हलिया मुक्तिको घोषणापछि मालिकको घरबाट बिदा हँुदा यहाँ आइपुगेका हुन् । बस्तीका ६० वर्षीय मनवीर सुनारका बाजे, बुबाले दैलेखमा छँदा अर्कैको हलो जोतेर पाइने दुई छाकको खाना र वर्षको एकजोर लुगामा जीवन बिताउनुभयो । साहुबाट लिएको थोरै पैसाको ब्याजमा काम गर्नुपर्ने बाध्यता थियो । साँवा कट्टा हुनुको साटो वर्षेनी बढ्दै जाने गरेको थियो । त्यतिबेला उहाँ सानै हुनुहुन्थयो । बुबाले जेनतेन पैसा जुटाएर साहुको साँवा बुझाउनुभयो । उहाँले भन्नुभयो, “कमाई खाने जग्गा नै थिएन । बस्नका लागि बनाइएको झोपडी पनि साहुकै जग्गामा थियो ।” पैसा बुझाएपछि साहुले बस्दै आएको ठाउँबाट हटाएपछि जीविका धान्नका लागि परिवारसहित तराई झरे पनि कमाई गर्ने ठाउँ नपाइदा धेरै वर्ष भारतमै मजदूरी गरेर बिताएको उहाँले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “जहाँ मजदूरी पाइन्थ्यो गथ्र्यौं । मजदूरीका लागि वर्षेनी ठाउँ फेर्दै हिँड्नु बाध्यता नै थियो ।” आफन्तले बस्नका लागि पुनर्वासमा जग्गा रहेको जानकारी गराएपछि यस क्षेत्रमा आएर बस्नुपरेको उहाँले बताउनुभयो । बस्दै आएको ठाउँमा चार कट्ठा जग्गा उहाँसँग छ । जग्गामा उत्पादन हुने अन्नबाट तीन महिना परिवारका लागि खानाको व्यवस्था हुने गरेको छ । बाँकी नौ महिनाका लागि खानाको गुजारा चलाउन भारतीय ऊखु फार्ममै काम गर्दै आउनुभएको छ । धेरै परिवारको झुपडीमा दातृ निकायले उपलब्ध गराएको जस्तापाता लगाइएको छ । धेरै परिवार घाँसको झुपडीमै बस्न बाध्य छन् । बस्तीमा पुग्ने नेताहरुले चुनावमा मोतियाफाँटालाई नमूना बस्ती बनाउने वाचा गरेका थिए । सुनारले भन्नुभयो, “अझै वाचा पूरा भएको छैन । चुनाव जितेर गएपछि बस्तीमा जनप्रतिनिधि फर्केर आएका छैनन् ।” प्रतिनिधिसभाका लागि चुनाव जित्नुभएको बीना मगर मन्त्रीसमेत हुनुभएको छ । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तारालामा तामाङ यस क्षेत्रबाट चुनाव जितेर प्रदेशमा पुग्नुभएको छ । नगर प्रमुख जीवनराज थापाले पनि चुनाव जित्नुभएको छ । सबै जनाले यस बस्तीलाई नमूना बनाउने वाचा गरेको सुनारले भुल्नुभएको छैन । “वर्षांैदेखि दुःखमा परेका परिवार बसेको बस्तीलाई चुनाव जितेपछि नमूना बनाएरै छाड्छौँ भन्थे”, उहाँले भन्नुभयो, “अहिले आएर नमूना बस्ती बनाउने कुरा स्थगित भएको सुन्नमा आएको छ । स्थगित भयो भन्छन् । के कारणले हो । भारत नजिकको बस्ती भएर पो हो कि ।” बस्तीमा बसोबास गर्दै आउनुभएका १२५ परिवारमध्ये मोतियाफाँटाका ३० परिवारले सरकारको हलिया पुनःस्थापन कार्यक्रमअन्तर्गत घर निर्माणका लागि रकम र थोरै भए पनि जग्गा पाएका छन् । बस्तीका धेरै परिवार भने अहिले पनि पुनःस्थापनमा पर्न सकेका छैनन् । सुर्खेतबाट विसं २०५१ मा थातथलोको खोजीमा तराई झरेका शेरबहादुर सुनार मोतियाफाँटामा बस्नका लागि पुग्नुभएको हो । भारतमा मजदूरी गरी परिवारको खर्च नचल्ने भएकाले उहाँ पनि बस्तीका अरुसँगै मजदूरीमा जाने गर्नुभएको छ । “छ महिना कमाएर ल्याएर पछि छ महिना खानका लागि पुग्छ”, उहाँले भन्नुभयो, “छ महिना मजदूरी नगरी सुख नै छैन ।” क श्रेणीको मुक्त हलियाको परिचयपत्र पाउनुभएको उहाँ यस वर्षको पुनःस्थापन कार्यक्रममा पर्नुभएको छ । “वर्षा हँुदा निकै सास्ती खेप्दै आएका थियौँ”, उहाँले भन्नु भयो, “जति पानी बाहिर पथ्र्यौ । त्यति पानी झुपडीभित्र पर्दथ्यो ।” पुनःस्थापनमा परेपछि नचुहिने घर पाइएपछि मजदूरी गरेर आरामसँग बस्न पाइने भएको छ । बस्तीका सबै परिवारको सुरक्षित आवासमा बस्न पाउने आशा त छ कहिले पूरा हुन्छ हुँदैन दोधारमा रहेका छन् । पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापा भने पछाडि परेको समुदायका लागि नगरपालिकाको प्राथमिकतामा राखेर कार्यक्रम अगाडि सार्ने बताउनुहुन्छ । काम पाए खान पाउने, काम नपाए खान नपाउने मुक्त हलियाका ४२ परिवारका लागि पुनःस्थापन कार्यक्रमअन्तर्गत आवास निर्माण हुन थालेपछि कहाँ बसौँ भन्ने समस्या नरहेको उहाँले बताउनुभयो । अरु परिवारलाई पनि सुरक्षित आवासका लागि पहल गरिने उहाँले बताउनुभयो । पेशा व्यवसायतर्फउन्मुख गराउनका लागि मुक्त हलिया परिवारका लागि नगरपालिकाले विशेष प्राथमिकताका साथ कार्य अगाडि बढाइने उहाँको भनाइ थियो ।
Categorized in राष्ट्रिय