STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

युनियनको रजत वर्ष शुभारम्भ गर्दै वाकाथुन

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १३, सोमबार

नेपाल प्रेस युनियन चितवनको आयोजनामा आज बिहान यहाँ सामूहिक हिँडाइ वाकाथुन कार्यक्रम सम्पन्न भएको छ । भरतपुरको चौबिसकोठीबाट नारायणगढको पुल्चोकसम्म झण्डै ५०० सहभागीसँगै हिँडेका थिए । 
युनियनले रजत वर्ष शुभारम्भको अवसरमा कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता तेजेन्द्र खड्कालगायत पत्रकार र विभिन्न सङ्घ संस्थाका प्रतिनिधि एवं शुभेच्छुकको सहभागिता रहेको थियो । 
कार्यक्रमको शुभारम्भका अवसरमा नेपाल चिकित्सक सङ्घ चितवनका सचिव वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले नियमित हिँडाइले शारीरिक र मानसिक फाइदा पुग्ने बताउनुभयो । उहाँले दैनिक १० हजार पाइला हिँड्नुपर्ने भन्दै स्वस्थ रहन हरेक दिन ३० मिनेट हिँड्न सुझाव दिनुभयो । 
नियमित हिँडाइले उच्च रक्तचाप, मधुमेह, कोलेस्टर नियन्त्रण गर्नुका साथै हड्डी र मासुको समस्या कम हुने अधिकारीको भनाइ छ । बिहानीको हिँडाइले मानसिक रुपमा स्फुर्त हुने भन्दै दिनभरको काममा सहजता आउने उहाँले जानकारी दिनुभयो । 
सो अवसरमा युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले सबै नागरिक स्वस्थ नबनेसम्म मुलुक समृद्ध नहुने भएकाले युनियनले केन्द्रीय समितिको स्थापना दिवसको अवसर र जिल्लाको रजत वर्षको अवसर पारेर कार्यक्रमको आयोजना गरेको बताउनुभयो । 
विसं २०४८ साल जेठ १३ गते युनियनको केन्द्रीय समिति गठन भएको थियो । त्यसको दोस्रो वर्षमा चितवनमा शाखा स्थापना गरिएको थियो । २५ वर्ष पूरा भएको वर्ष भवन निर्माणमा केन्द्रित भएको युनियनले यस वर्ष एक महीना एक कार्यक्रम गरी रजत वर्ष मनाउन लागेको हो । 
रजत वर्षका अवसरमा युनियनले श्रमजीवी पत्रकारको अवस्था र कार्यान्वयनको विषयमा अन्तक्र्रिया, सरकारी निकायका सूचना अधिकारीसँग पत्रकारको अन्तक्र्रिया, खुला फोटो प्रतियोगिता, महिला पत्रकारको अध्ययन अवलोकन भ्रमण, जिल्लामा रहेर २५ वर्षभन्दा लामो समयदेखि पत्रकारिता गर्ने पत्रकारलाई सम्मानलगायतका कार्यक्रम तय गरेको छ । 
सोही अवसरमा अन्तर मिडिया फुटसल प्रतियोगिता, पत्रकारका लागि आँखा एवं दन्त परीक्षण, सांस्कृतिक कार्यक्रम, जिल्लाको पहाडी क्षेत्रमा स्वास्थ्य शिविर, भ्रमण वर्ष २०२० मा केन्द्रित भई पर्यटन विकास लक्षित कार्यक्रम, पिछडिएको बस्तीमा क्यान्सर सचेतना कार्यक्रम, वातावरण संरक्षणसम्बन्धी सचेतना अभियान, रजत स्तम्भ अनावरण र स्मारिका विमोचनसँगै समापन कार्यक्रम गरिने अध्यक्ष ढकालले जानकारी दिनुभयो । 
Categorized in राष्ट्रिय