रकम अभावले संस्कृति, सम्पदा संरक्षणको काम नरोकिने : मेयर शाक्य
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आश्विन ६, बुधबार
नेवाः पत्रकार राष्ट्रिय दबूले बुधबार ललितपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रकम अभावले संस्कृति, सम्पदा संरक्षणको काम रोकिनुपर्ने अवस्था पूर्ण रुपमा अन्त्य भएको बताउनुभएको छ भने यसप्रति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानूनी मन्त्री नियुक्त हुनुभएकोमा डा अजयक्रान्ति शाक्यलाई स्वागत र संस्कृति सम्पदा संरक्षणमा प्रदेश र स्थानीय तहको भूमिका विषयमा छलफल गर्न सो कार्यक्रम आयोजना गरिएको थियो ।महानगरपालिकामा जनप्रतिनिधि आएपछि भाषा, संस्कृति र सम्पदा संरक्षणको विषयलाई उच्च प्राथमिकता राखी बजेट विनियोजित गर्दै आएको बताउँदै मेयर शाक्यले रकम अभावका कारण संस्कृति, सम्पदा संरक्षण नहुने, कुनै नाच पर्व बन्द हुने , सम्पदा जीर्ण अवस्थामै राखिराख्नुपर्ने स्थिति गुठीयार, संस्कृतिकर्मीले भोग्नुपर्ने अवस्था अब छैन भनि भन्नुभयो ।
सो अवसरमा बागमति प्रदेशका आन्तरिक मामिला मन्त्री डा शाक्यले भाषा, संस्कृति संरक्षण गर्नुपर्ने एजेण्डालाई बोक्दै राजनीतिक यात्रा शुरु गरी यहाँसम्म आइपुगेको चर्चा गर्दै बागमति प्रदेशले सो सवालमा महत्वपूर्ण काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।नेपालको संघीयताको अभ्यासलाई परिपक्व बनाउन आफूले सक्दो भूमिका निर्वाह गर्ने बताउँदै मन्त्री शाक्यले काठमाडौं महानगरपालिकाले संस्कृति र सम्पदा संरक्षणमा धेरै काम गरेको छ भनि भन्नु भयो। सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्यले मेयर शाक्यले संस्कृति सम्पदा संरक्षणमा स्थानीय तहले कसरी र कुन रुपमा भूमिका निर्वाह गर्न सक्दछ भन्ने विषयमा महानगरपालिकाले एउटा बलियो उदाहरण स्थापित गरेको धारणा राख्नुभयो ।अध्यक्ष बज्राचार्यले भाषा, संस्कृति, सम्पदा संरक्षणमा महानगरपालिकाको भूमिका ऐतिहासिक कार्यको संज्ञा दिनुभयो।उहाँले प्रदेश सरकारले मातृभाषाको पत्रकारिता, समावेशी सञ्चारको लागि गर्नुपर्ने विषयमा मन्त्री शाक्य समक्ष ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो ।
सो अवसरमा कार्यक्रमका संयोजक समेत रहनुभएका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले महानगरपालिकाले विद्यालयस्तरमा नेपालभाषाको माध्यमबाट पढाईने नीति लागू गरी युगान्तकारी काम गरेको धारणा राख्नुभयो ।
Categorized in उपत्यका

