रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउनुको कारण माग
Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २२, बुधबार
काठमाडौं - सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउनुको कारण माग गरेकाे छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार लामिछानेविरुद्ध मुद्दा नचलाउनुको कारण माग गरेकाे हाे ।
महान्यायाधिवक्ता दिनमणि पोखरेलको उक्त निर्णयविरुद्ध युवराज पौडेलले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश फुयालको इजलासले कारण देखाउ आदेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।महान्यायाधिवक्ता पोखरेलले लामिछानेविरूद्ध चैत ६ गते मुद्दा चलाउन नपर्ने निर्णय गरेका थिए।
अमेरिकी नागरिकता र पासपोर्ट बोकेर नेपाल आएको बेला लामिछानेले पुरानो नागरिकता पेस गरेर नेपालको राहदानी लिएको भन्दै परेको उजुरीमा प्रहरी, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका थिए ।
लामिछानेले २०५० फागुन १० मा वंशजका आधारमा नागरिकता लिएको र सोही नागरिकताको आधारमा राहदानी लिई अमेरिका गएका थिए ।
Categorized in राजनीति

