राख्न नचाहे बाबुको नाम नागरिकतामा नरहने प्रस्ताव संसदमा पेश
Janjati Khabar – Janjati Khabar | २०८१ माघ १५, मंगलबार
काठमाडौं - सरकारले नागरिकतामा बुबाको नाम उल्लेख गर्न नचाहनेको मागलाई सम्बोधन गर्दै नागरिकतासम्बन्धी विधेयक संशोधनका लागि प्रस्ताव संसद् पुर्याएको छ । गृहमन्त्री रमेश लेखकले मंगलबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनको विधेयक संसद् सचिवालयमा दर्ताका लागि पत्र पठाएका हुन् ।
“१ (क) उपदफा (५) बमोजिम दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा र कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनुपर्ने स्थानमा कुनै बेहोरा उल्लेख नगरी दिनुपर्नेछ,” प्रस्तावित विधेयकको दफा ४ मा उल्लेख छ ।
त्यसैगरी, विधेयकमा बाबु वा आमामध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्कोको जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गर्नुअगावै मृत्यु भएको वा बाबुले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेकामा आमा सम्पर्कविहीन रहेको व्यक्तिको हकमा पनि वंशजको आधारमा नागरिकता दिने सकिने प्रस्ताव गरिएको छ ।
प्रस्तावित विधेयकमा नागरिकता प्राप्त गर्न चाहेको व्यक्तिका बुबाको नाम शैक्षिक प्रमाणपत्र वा अन्य कागजातमा भए पनि नागरिकतामा अनिवार्य गरिएको छैन ।
“५ (क) कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्रमा बाबुको नाम उल्लेख भए तापनि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको भनी निजले स्वःघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानिनेछ र निजले उपदफा (५) बमोजिम वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ,” सरकारले ल्याएको विधेयकको दफा २ मा भनिएको छ ।
Categorized in राष्ट्रिय

