राप्रपाले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने
Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण २४, बुधबार
काठमाडौं - भोलि (बिहीबार) हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको छ ।
बुधबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको हो ।
बैठकपश्चात् पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले राप्रपाले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने र निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेका बताए ।
बैठकमा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने बहुमत भएपछि उक्त निर्णय सदर भएको हो । राजसंस्था पुनः स्थापना मुख्य राजनीतिक ऐजेन्डा बोकेको राप्रपाले गणतन्त्रको प्रतीक मानिने राष्ट्रपतिमा मतदान गर्नु राजनीतिक कार्यदिशाभन्दा फरक हुने भन्दै बैठकमा आवाज उठेको थियो ।
राष्ट्रपति निर्वाचनका लागि मतदान बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँबानेश्वरस्थित संघीय संसदमा चल्दैछ । राष्ट्रपति पदका लागि नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ र ९ दलीय गठबन्धनबाट नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।
Categorized in राजनीति

