STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २३, सोमबार

स्वतन्त्र पत्रकार सङ्घ नेपाल कास्की शाखाको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको आज यहाँ उद्घाटन कार्यक्रममा आम नागरिक र राष्ट्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य भएकोमा जोड दिइएको छ ।
विभिन्न रुपमा स्वतन्त्र प्रेसमाथि आक्रमण भइरहेको बताउँदै कार्यक्रमका वक्ताले पाइला पाइलामा बढ्दै गएको दण्डहिनता एवं सामाजिक विकृति विसङ्गतिको अन्त्यका लागि पत्रकारिता क्षेत्र बलियो बन्नुपर्ने धारणा राखे ।
प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुलीले नेपाली जनताले बनाएको संविधानका धारा उल्ट्याउँदै स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम भइरहेको बताउनुभयो ।
पत्रकार जगत कमजोर भयो भने त्यसले समाज र राष्ट्रलाई कमजोर बनाउने उल्लेख गर्दे उहाँले पत्रकारिता क्षेत्रलाई बलियो बनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो ।
स्वतन्त्र पत्रकार सङ्घ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले दलगत रुपमा पत्रकार यो वा त्योसँग निकटबन्दा त्यसको समग्र पत्रकारितालाई नै कमजोर बनाएको बताउँनुभयो ।
पत्रकारिताको मर्म र भावनालाई उच्च बनाउनका लागि पनि पत्रकार स्वतन्त्र हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पत्रकारको हकहितको सुरक्षाका लागि सङ्घ निरन्तर क्रियाशिल बन्ने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घका सल्लाहकार एवं नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष नारायण कार्कीले महासङ्घको निर्वाचनका बेला प्रत्येक पटक न्यूनतम पारिश्रमिकको विषय मुख्य मुद्दा बनाइने गरे पनि पत्रकारले उक्त पारिश्रमिक प्राप्त गर्न नसकेको धारणा राख्नुभयो ।
उहाँले स्वतन्त्र पत्रकार सङ्घले पत्रकारसँग सरोकार राख्ने न्यूनतम पारिश्रमिक, पत्रकारका हकहित लगायतका मुद्दालाई लिएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले विभिन्न नाममा स्वतन्त्र पे्रेस विरोधी गतिविधि बढेको प्रति गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
स्वतन्त्र पत्रकार सङ्घ कास्की शाखाका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी नारायण भट्टराई, सङ्घका पूर्वमहासचिव कमल पौडेल, खेलकूद पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष एकराज गिरी, सङ्घका सल्लाहकार एवं नेपाल पत्रकार महासङ्घ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्मा, कृष्ण रानाभाट, असफल गौतमले स्वतन्त्र प्रेसमाथि विभिन्न बाहनामा गरिएका षडयन्त्र प्रति बेलैमा सचेत बन्नुपर्नेमा जोड दिनुभयो । 
Categorized in राष्ट्रिय