राष्ट्रपति निर्वाचनका लागि कार्यदल गठन
Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १४, आइतबार
काठमाडौं - आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलीय गठबन्धनको बैठकले राष्ट्रपति निर्वाचनका लागि कार्यदल गठन गरेको छ । गठन भएको कार्यदलमा प्रत्येक दलबाट एक/एक जना सदस्य रहेका छन् भने कार्यदलले राष्ट्रपति निर्वाचन कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्नुपर्ने छ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदल गठन गरिएको छ । कार्यदलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ८ दल सहभागी रहेका छन् । कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् ।
यस्तै, जनमत पार्टीबाट अब्दुल खाँ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन् । कार्यदलमा आबद्ध सदस्यले राष्ट्रपति निर्वाचनमा आआफ्नो पार्टीको जिम्मा लिनुपर्नेछ ।
राष्ट्रपति निर्वाचन यहिँ २५ फागुनमा हुँदैछ । उक्त निर्वाचनमा ८ दलको साझा उम्मेदवार रामचन्द्र पौडेल रहेका छन् ।
Categorized in राजनीति

