राष्ट्रियसभा ः नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ पारित
Janjati Khabar – जनजाति खबर | २०७६ माघ २३, बिहिबार
मिडिया काउन्सिल, मिडियाबाट पीडित भएका व्यक्तिका लागि न्याय पाउने नियामक निकाय भएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले पत्रकारका लागि यो नै मूल कानून भने नभएको बताउनुभयो । उहाँले काउन्सिलमार्फत मिडियाको विरुद्धमा उजुरी दिन पाउने नागरिकको हकलाई यसले सुनिश्चित गरेको बताउनुभयो । “पहिले मूल्याङ्कन आफैँ, जाँचकी पनि आफैँ र आफैँ परीक्षार्थी थियो, काउन्सिल अब जाँचकी मात्रै हो, परीक्षार्थी होइन”, मन्त्री बाँस्कोटाले जवाफका क्रममा भन्नुभयो । मिडियाको स्वनियमनको विषय अर्को कानूनमा आउने जानकारी दिँदै उहाँले मध्यस्थतासम्बन्धी विस्तृत कुरा नियमावलीमा समेटिने बताउनुभयो ।[/caption]
विधेयक पारित हुनुपूर्व विधेयकउपरको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी नेकपा का राष्ट्रियसभामा प्रमुख सचेतक खिमलाल भट्टराईले विधेयक मिहीन ढङ्गले छलफल गरेर आएको जिकिर गर्नुभयो । कम्युनिष्ट पार्टीले स्थापनाकालदेखि नै लोकतन्त्रका लागि पसिना बगाएकाले कुनै आशङ्का नराख्न अनुरोध गर्दै उहाँले महत्वपूर्ण विषयमा गम्भीर भएर प्रस्तुत हुन सबैलाई आग्रह गर्नुभयो ।
नेकपाकै सांसद कोमल ओलीले मौलिक हकमै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएकाले विधेयकमा भनिएजस्तो परीक्षाको आवश्यकता नरहेको बताउनुभएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले पहिले नै विधेयकका सम्बन्धमा पत्रकारका लागि परीक्षा, लाइसेन्स र दर्ताका विषयमा असहमति राख्दै आएको जानकारी गराउँदै उक्त व्यवस्था हटाएर मात्रै विधेयक पारित गर्नुपर्नेमा जोड दिनुभएको थियो । “सञ्चारकर्मीको हरेक दिन हरसमय परीक्षा भइरहेको हुन्छ, श्रोता, पाठकले मन नपराए आफैँ हराएर जान्छ भने अर्को परीक्षा किन आवश्यक भयो”, सांसद अधिकारीले भन्नुभयो ।
नेपाल मिडिया काउन्सिल विधेयकमाथि आज राष्ट्रियसभामा भएको दफावार छलफलका क्रममा सांसदहरु रामप्रीत पासवान, जीवन बुढा, विमला राई पौडेल लगायतले धारणा राख्नुभएको थियो ।
–––
Categorized in राष्ट्रिय


