राससले जनताका समस्या उजागर गर्नुपर्छ ः महाप्रबन्धक शर्मा
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ३, शुक्रबार
राष्ट्रिय समाचार समिति रासस का महाप्रबन्धक ओपेन्द्र शर्माले राससले सरकारको मात्र नभई जनताका समस्या पनि उजागर गर्नुपर्नेमा जोड दिनुभएको छ । रासस कर्णाली प्रदेश कार्यालय आज निरीक्षणपश्चात् कर्मचारीलाई निर्देशन दिँदै उहाँले विकास निर्माण, पर्यटन र कृषिका सम्भावनाका साथै जनताका समस्यालाई उजागर गर्नुपर्ने बताउनुभएको हो ।
प्रतिस्पर्धाको युगमा रासस पनि प्रादेशिक संरचनामा जान बाध्य भएको छ भन्दै महाप्रबन्धक शर्माले निकट भविष्यमै प्रदेशबाट बुलेटिन प्रकाशन गर्ने योजना बनाइएको जानकारी दिनुभयो । “सबै सञ्चारमाध्यम प्रदेश संरचनामा गएर आफ्नो सेवा विस्तार गरिरहेका छन्, राससलाई पनि छिट्टै प्रदेशस्तरबाटै बुलेटिन निकाल्नुपर्ने चुनौती छ,” उहाँले भन्नुभयो, “यसको तयारी पनि भइरहेको छ, आवश्यक जनशक्ति र स्रोतसाधनसहित प्रदेश कार्यालयलाई सुविधासम्पन्न बनाएर बुलेटिन प्रकाशन गर्ने तयारीमा हामी छौँ ।”
रासस समाचार बैंक भएकाले गुणस्तरीय समाचार, आलेख समाचार र फोटो उत्पादन गरेर अन्य मिडियाभन्दा अब्बल बन्नुपर्ने धारणा व्यक्त गर्दै महाप्रबन्धक शर्माले भिडियो सेवालाई अझ प्रभावकारी बनाइने बताउनुभयो ।
Categorized in राष्ट्रिय


