रूस नेपालकाे जलविद्युत्मा लगानी गर्न इच्छुक
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २३, मंगलबार
काठमाडौं - रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ ।
नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा देखाएको हो ।
रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंक नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिए ।
त्यस्तो लगानी सरकार-सरकारबीचको सम्झौतामा गर्न चाहेको प्रतिनिधिमण्डलले जनाएको छ । राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत उत्पादन र वितरणसम्बन्धी कानूनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो ।
यस्तै नेपालमा विद्युत र सिँचाइका संयुक्त आयोजनाको सम्भाव्यताबारे पनि टोलीको चासो थियो । रसियन प्रतिनिधि मण्डलले उत्पादित विद्युत आफ्नै उद्योगमा खपत गर्न सकिने/नसकिने विषयमा समेत मन्त्री पुनसँग प्रश्न गरेको थियो ।
मन्त्री पुनले आगामी १० वर्षमा नेपालको आन्तरिक बजारमा १० हजार मेगावाट विद्युत खपत हुने प्रक्षेपण सरकारले गरेको जानकारी दिए । बढी भएको विद्युत निर्यात गर्न भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गरिसकिएको उनले बताए ।
Categorized in राष्ट्रिय

