STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लगनस्थित कीर्ति पुण्य महाविहार आगंछेँको मेयर शाक्यद्वारा शिलान्याश

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ माघ ४, आइतबार

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले वडा २१ लगनटोलस्थित कीर्ति पुण्य महाविहार आगंछेँंको शिलान्यास गर्नुभएको छ । माघ २ गते विहान धार्मिक विधिअनुसार आयोजना गरिएको कार्यक्रममा शिलान्यास गर्नुभएको हो । सो अवसरमा बोल्नु हुँदै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मुर्त–अमुर्त सम्पदाको संरक्षणमा काठमाडौँ महानगरपालिका एकाग्र भएर लागेको बताउनु भएको छ । वडा नं. २१ स्थित लगन टोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको आगंछेँ पुनःनिर्माणको शिलान्याश गर्दै शाक्यले यस्तो बताउनु भएको हो । 

मेयर  शाक्यले परम्परा, इतिहास, सँस्कृति र सस्कारलाई जीवन्न बनाउन सबैको हातेमालो आवश्यक रहेको स्मरण गराउनु भयो र अहिले महानगरपालिकाले सम्पदा निर्माण, पुनःनिर्माणमा गरेको लगानी सयौँ वर्षका लागि हुने स्मरण गराउनुभयो ।  उहाँले काठमाडौँमा मुख्य गरेर १८ ओटा विहार रहेका छन् । त्यो मध्येको लगंबहाः एक महत्वपूर्ण विहार हो र प्राचिनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौँको तल्लो भेगको क्षेत्र (क्वःने)मा अवस्थित लगं बहाः ऐतिहासिक तथा पुरातात्विक महत्वको बिहार हो भन्नु हुँदै उहाँले बुद्ध शासनकालसँग जोडिएको यो ऐतिहासिक बिहारको पुनःनिर्माणसँगै यहाँका स्थानीयहरु थप उत्साहित बनेको बताउनुभयाे ।

काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम अन्तरगत पुनर्निर्माण हुन लागेको कीर्तिपुण्य महाविहारको आगंछेँ को लागत २ करोड ८५ लाख रहेको छ ।  २०७८ मंसिरसम्म सम्पन्न गर्नुपर्ने कार्यादेश पाएको निर्माण कम्पनी तुलसी कन्स्ट्रक्शनले समयमै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।  महानगरपालिकाले यस अघि नै लगं बहाः भित्रै अवस्थित दिगुद्यः पनि पुनर्निर्माण सम्पन्न गरेको छ । २०७२ सालको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएको दिगुद्यः को पनि मेयर शाक्यले नै उद्घाटन गर्नुभएको थियो । 

दिगुद्यः लगं बहाः अन्तर्गत रहेका सम्पूर्ण शाक्य तथा वज्राचार्यहरूको कुलदेवता (दिगुद्यः) का रूपमा पुजिने गरेको भन्दै स्थानीय कुलभक्त शाक्यले उपत्यकाका अधिकांश नेवार समुदायको कुलदेवता प्रायः घरभन्दा टाढा खुल्ला चउरमा रहने भए पनि घर छेउमै बहाल भित्र कुलदेवता रहेको लगं बहाः नै रहेको बताउनुभयो । हरेक वर्ष देवालीका दिन लगं बहाः अन्तर्गत रहेका शाक्य र वज्राचार्य समुदायको देवाली पूजा (देपुजा) पनि यही मन्दिरमा मनाउने गरेकाले पनि विहारको थप महत्व रहेको शाक्यले जानकारी दिनुभयो ।  

‘प्राचिनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौँको तल्लो भेगको क्षेत्र (कोने)मा अवस्थित लगं बहाः ऐतिहासिक तथा पुरातात्विक महत्वको बिहार हो,’ शाक्यले भन्नुभयो, ‘प्रताप मल्लको पालामा नै बौद्ध विहार अस्तित्वमा रहेको इतिहास छ । यो क्षेत्रमा प्रताप मल्लका छोराहरु नृपेन्द्र मल्ल र चक्रवतिन्द्र मल्लका पालाका शिलालेखहरु तथा चैत्यहरु अहिलेसम्म पनि यत्रतत्र छरिएर रहेका छन् ।’ 

महाविहार रेखदेख समितिका सदस्य सुगन्धरत्न शाक्यले लगन टोलका शाक्य र बज्राचार्यहरुका इष्ट देवताको मन्दिर निर्माणसँगै विहार निर्माणमा महानगरपालिकाले सहयोग गर्दा उत्साहित भएको बताउनुभयो ।  कपिलवस्तुबाट शाक्यहरु लखेटिएपछि यो ठाउँमा आएर बस्ती बसालेको र उनीहरुले नै विहार निर्माण गरेको शाक्यको भनाइ छ ।

Categorized in उपत्यका