STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललितपुले २०७९/८० लाई ‘सुशासन वर्ष’को रुपमा मनाउने

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ५, बिहिबार

काठमाडौं - ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९८० लाई ‘सुशासन वर्ष’ का रुपमा मनाउने भएको छ ।

बुधबार ललितपुर महानगरपालिकाको नगर सभाबाट चालु आर्थिक वर्ष २०७९८० को नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्दै विभिन्न योजना तर्जुमा गरिएको सम्बन्धमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमार्फत यस्तो जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिका मेयर चिरीबाबु महर्जनले चालु आर्थिक वर्ष सुशासन वर्षको रुपमा मनाइने बताए । उनले सुशासन वर्ष महानगरले गर्ने खर्च कटौती गरेर, बेरुजु उल्लेख्य मात्रामा घटाएर, पारदर्शिता प्रवद्र्धन गरेर, वडालाई विकासको केन्द्रको रुपमा विकसित गरेर र कार्यसम्पादन सम्झौता गरेर सुशासन वर्ष मनाउन लागिएको बताए ।

मेयर महर्जनले विपद् व्यवस्थापनमा लगानी वृद्धि गरी दमकल खरिद गर्ने योजना बनाएको बताए । उनले वारुण यन्त्रको क्षमता अभिवृद्धि गर्ने, विपद् सम्बन्धी सम्पूर्ण जनशक्ति, स्रोत, साधन, सामग्री, सूचना एउटै छातामुनिबाट परिचालन गर्ने, रिङरोड बाहिरका वडाहरूमा फोहर संकलनमा आधुनिक उपकरणको प्रयोग तथा परिचालन गर्ने योजना बनाएको बताए ।

त्यस्तै मेयर महर्जनले महानगरपालिकाले महानगरका सबै वडामा सम्भव भएसम्म आधुनिक अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण गर्ने बताए । उनले आधुनिक र प्रविधिको विकास हुँदै गएकाले महानरपालिकाको राजश्व संकलन प्रक्रियालाई अनलाइन सिस्टममा आवद्ध गर्ने बताए । मेयर महर्जनले मेडिकल टिम बनाएर प्रत्येक घरघरमा गएर ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गर्ने गरी ज्येष्ठ नागरिकसँग महानगर कार्यक्रम यो वर्ष पनि निरन्तरता दिने बताए ।

उनले महानगरले शैक्षिक क्रियाकलापलाई एकरुपता ल्याएर कक्षा ३ सम्म नेपाल भाषाको पाठ्यक्रम लागू गरिने बताए । मेयर महर्जनले खानेपानी व्यवस्थामा विशेष जोड दिँदै सम्भाव्यता स्थानमा वाटर एटिएमको व्यवस्था गर्ने बताए । उनले छिमेकी नगरपालिकाहरुको परियोजनामा सहयोग गर्ने योजना बनाएको बताए ।

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ६ अर्ब ३५ करोड ३५ लाख तीन हजार रुपैयाँको बजेट प्रश्तुत गरेको थियो । जसमध्ये चालु खर्चतर्फ २ अर्ब २६ करोड ६१ लाख ५४ हजार तथा पुँजीगततर्फ ४ अर्ब ८ करोड ७३ लाख ४९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

महानगरपालिको ६ अर्ब ३५ करोड ३५ लाख तीन हजार रुपैयाँको प्रश्तुत बजेटमा आन्तरिक स्रोत ३ अर्ब ९६ करोड,संघीय सशर्त अनुदान ६५ करोड ९४ लाख,प्रदेश सशर्त अनुदान २९ करोड ९८ लाख ४ हजार र अन्तर सरकारी वित्तीय हस्तान्तरण १ अर्ब ७० करोड ४१ लाख १९ हजार रुपैयाँ रहेको छ ।

चालु खर्चतर्फको ४५ करोड रुपैयाँ ललितपुर महानगरपालिका भित्रका ७३ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप वार्षिक एकमुष्ठ रुपमा १० हजारका दरले दिनको लागि छुट्याएको छ ।

Categorized in उपत्यका