लोडसेडिङविरुद्ध कीर्तिपुरका जनता : प्राधिकरणलाई ध्यानाकर्षण
Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ माघ २६, सोमबार
दुई–तीनदिनदेखि निरन्तर लामो समयसम्म लोडसेडिङ गरी जनतालाई दुःख दिइरहेपछि कीर्तिपुर विद्युत् प्राधिरकणविरुद्ध कीर्तिपुरका जनता उठेका छन् ।
लोडसेडिङविरुद्ध कीर्तिपुरका जनसमुदायले आइतबार विद्युत् प्राधिकरण, कीर्तिपुर वितरण केन्द्रको कार्यालयमै पुगी ध्यानकर्षण पत्र हस्तान्तरण गरेका छन् ।
सो ध्यानकर्षण पत्र कीर्तिपुर नगरपालिकाको कार्यालय र महानगरीय प्रहरी वृत्त, कीर्तिपुरलाई समेत बोधार्थ गरिएको छ ।
सो ध्यानकर्षण पत्रमा केही महिनादेखि दैनिक रुपमा बिजुली अवरुद्ध हुने क्रम बढ्दै गएकोमा विद्युत प्राधिकरणको ध्यानकर्षण गराइएको छ ।
दैनिक १८ घण्टाको लोडसेडिङ भोग्दैआएको अवस्थामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङको प्रवेशपछि उनको राम्रो व्यवस्थापनको कारण नेपाल लोडसेडिङ मुक्त भएको र अहिले घिसिङको कार्यकाल समाप्त भएको केही महिनापछि नै विद्युत् आपूर्तिमा अवरोध आउन थालेकोले पुनः लोडसेडिङको शंका समेत ध्यानकर्षण पत्रमा उठाइएको छ ।
लोडसेडिङ मुक्त भइसकेका जनता अब कुनै पनि हालतमा अँध्यारोमा बस्न तयार नरहेको जनाउँदै पत्रमा प्राधिकरणको व्यवस्थापनको असावधानी एवं लापरवाहीले आउने दिनमा नियमित रुपमा विद्युत् अवरुद्ध भएमा त्यसले पार्ने नकारात्मक परिणाम एवं त्यसबाट सिर्जित अप्रिय घटना एवं दुर्घटनाको जिम्मेवारी स्वयं प्राधिकरण व्यवस्थापनको हुने चेतावनी पनि ध्यानकर्षण पत्रमा दिइएको छ ।
यसैगरी, बिजुली अवरोधको समय प्राधिकरणका कर्मचारीले टेलिफोनको रिसिभर उठाएर फोन इन्गेज गर्ने प्रवृत्ति रहेको तर्फ इङ्गित गर्दै यस्तो प्रवृत्तिले प्राधिकरणलाई नै नराम्रो असर पर्नेसमेत जनाइएको छ ।

Categorized in उपत्यका


