वन क्षेत्र अतिक्रमणले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ८, बुधबार
वन क्षेत्रको अतिक्रमणले वन्यजन्तु बासस्थानको विनाश हुनाका साथै वन्यजन्तुको आहारामा समेत कमी आउँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ ।
मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले वन्यजन्तु आफ्नो बासस्थान छोडी गाउँ बस्तीमा पस्ने क्रम बढेको देखिन्छ ।
यसबाट वन्यजन्तुका अतिरिक्त निकुञ्ज र आरक्ष वरिपरि बसोबास गर्ने समुदायको कृषि बाली नोक्सानी हुनाका साथै मानवीय क्षतिसमेत वृद्धि हुँदै गएको तथ्याङ्कले देखाउँछ । यसले स्थानीय जनतामा बदलाको भावना जागृत भई वन्तुजन्तुको शिकारमा समेत वृद्धि भएको देखिन्छ ।
आव २०७५÷०७६ को १० महीनामा वन्यजन्तुको आक्रमणबाट देशभर २४ जनाको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । सो अवधिमा हात्तीको आक्रमणबाट १०, गैँडाको आक्रमणबाट एक, बाघको आक्रमणबाट तीन, चितुवाको आक्रमणबाट सात, जङ्गली कुकुरबाट एक, जङ्गली बँदेलबाट एक र मगर गोहीबाट एक जनाको मृत्यु भएको विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “वन्यजन्तुको आक्रमणबाट यस अवधिमा ७२ जना सख्त घाइते र छ जना सामान्य घाइते भएको तथ्याङ्क छ, वन्यजन्तुबाट भएको पशुधन, कृषिबाली र घरगोठमा भएको क्षति तथा तथा घाइते र मृतकका परिवारलाई राहतस्वरुप रु छ करोड १० लाख ८३ हजार ४२४ वितरण गरिएको छ ।”
विभागका अनुसार विसं २०७४ साउनदेखि चैतसम्म विभिन्न निकुञ्जमा वन्यजन्तुको आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो भने ३३ मानिस घाइते भएका थिए । त्यस्तै आव २०७३÷७४ मा देशभर मानव–वन्यजन्तु द्वन्द्वका कारण २२ जनाको मृत्यु भएको थियो भने ४३ जना घाइते भएका थिए ।
Categorized in राष्ट्रिय