STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वन संरक्षण जनचेतना सप्ताह सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १४, बिहिबार

वनमा डढेलो लाग्न नदिन सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने सहभागीले जोड दिएका छन् । प्राकृतिक सम्पदाको रुपमा रहेको वनबाट मानव जीवनमा निकै फाइदा रहेकाले यसको संरक्षण, संवद्र्धन हुनु जरुरी रहेको सरोकारवालाको भनाइ छ । निजी, साझेदारी र सामुदयिक वन गरी मोरङमा ५५ हजार ५०० हेक्टर जग्गामा वन छ भने समग्र जिल्लाको २९।९ प्रतिशत क्षेत्रफल वनले ढाकेको छ । प्रायः फागुनदेखि जेठ महीनामा वनमा डढेलो लाग्ने गरेको पाइएको छ भने विशेष गरेर मानवका कारण वन डढेलो लाग्नु र वन क्षेत्रमा रहेका बस्ती पनि जोखिममा पर्ने भएकाले यसतर्फ सम्बन्धित निकायले निगरानी बढाउन डिभिजन वन कार्यालयले ‘डढेलो नियन्त्रण गरौँ, वन जोगाऔँ’ भन्ने प्रमुख नाराकासाथ वन डढेलो नियन्त्रण जनचेतना सप्ताह बुधबार सम्पन्न गरेको छ । वनमा पसेर घाँसपात गर्ने, पिकनिक मनाउने, निगरो र च्याउका निम्ति मानिसले आगो लगाउने गरेको तथ्य सार्वजनिक भएको छ भने कतिपय सामुदायिक वन उपभोक्ता समितिले डढेलो शीर्षकमा राखेका रकम खर्च गर्न पनि वनमा आगो लाग्ने गरेको अनुमान बाहिर आएको छ । वनमा आगो लाग्दा रुखको फेदमा रहेका स–साना बोटबिरुवा, घाँसपात, झार डढ्नुका साथै वनमा आश्रित वन्यजन्तु पनि जलेर खरानी हुनुले ठूलो समस्या देखिएको छ । मोरङको वेतना सीमसार सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा आयोजित पत्रकार र वनका पदाधिकारी एवं सञ्चारकर्मीसँगको छलफलमा डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले वन हामी मानवका निम्ति अत्यन्त आवश्यक रहेकाले यसलाई जोगाउनु हाम्रो धर्म हो भन्नुभयो । पथरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश पौडेलले वन क्षेत्रमा दैनिक आगलागी भइरहेकाले आगो निभाउन परम्परागत प्रविधि तथा उपाय अतिरिक्त आधुनिक प्रविधि र उपकरण प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो । ग्रामीण सुधार सामुदायिक वनका अध्यक्ष अमर सङ्ग्रौला, सञ्चारकर्मी गोपाल काफ्ले, भीमराज अधिकारी, मोहन भट्टराई र भक्तशेर लिम्बूले वन राष्ट्रको धन भएकाले यसको विनाशभन्दा विकास र विस्तारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
Categorized in राष्ट्रिय