STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वसन्तपुको गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १५, मंगलबार

काठमाडौं - वसन्तपुरस्थित दरबारमा रहेको गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । आज साझ ४ बजे एक कार्यक्रमकाबीच गद्दी बैठकको उदघाटन गर्ने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति र्पुयाएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसन अन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोषले ७ लाख डलर सहयोगमा पुनर्निर्माण गरेका हुन । योसँगै गद्दी बैठकको तल्लो तलामा रहेका तीनवटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र हेर्न सकिने भएको छ ।

गद्दी बैठक अवलोकनको लागि सर्वसाधारणले अतिरिक्त शुल्क तिर्नु नपर्ने दरबार हेरचाह अड्डाले जनाएको छ । गद्दी बैठकको निर्माण सम्पन्न गरेर २०७५ असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । सोही दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गद्दी बैठक उद्घाटन गर्नुभएको थियो । पुनर्निर्माण सकेपनि भित्रको व्यवस्थापन मिलाउन बाँकी रहेकाले सर्वसाधारणलाई प्रवेश खुला गर्न केही ढिलाइ भएको हो ।

गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको पालामा नवशास्त्रीय शैलीमा बनेको हो, जुन विदेशी पाहुनालाई ओहोदाको प्रमाणपत्र दिनका लागि प्रयोग गर्ने गरिन्थ्यो । यसबाहेक राज्यको महत्वपूर्ण बैठकका लागि गद्दी बैठकको प्रयोग गरिन्थ्यो । अन्तिम पटक राजा महेन्द्रको पालामा ओहोदाको प्रमाणपत्र गद्दी बैठकबाटै दिएको थियो । गद्दी बैठकको भुइँ तलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विवरण तथा सामग्रीहरु राखिएको छ ।

Categorized in उपत्यका