STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वामपन्थीहरूबीच एकताको प्रयास भइरहेको छ : प्रचण्ड

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ७, शनिबार

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धनभित्र रहेका वामपन्थी पृष्ठभूमिका पार्टीहरूबीच एकताको प्रयास भइरहेको बताएका छन्।

पार्टीको कार्यक्रमका लागि सर्लाही जाने क्रममा आज जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। गठबन्धनभित्र रहेको सबै वामपन्थी पृष्ठभूमि भएका समूहसँग छलफल चलिरहेको र छिट्टै सकारात्मक परिणाम आउने उनको भनाइ छ।

प्रचण्डले भने, ‘जनता समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराईको समूह फुटिसकेको र औपचारिकता मात्र बाँकी छ। जसपाका दुवै पक्षसँग हाम्रो छलफल चलिरहेको छ। उपेन्द्र यादवजीले नेतृत्व गरेको पार्टी गठनबन्धनमै छँदैछ, बाबुरामजीले बनाउने अर्को पार्टी पनि गठबन्धनमै रहने उहाँहरूले भन्दै आउनुभएको छ। त्यस कारण बाबुरामजीको समूह पनि हाम्रै गठबन्धनमा रहने मेरो विश्वास छ।’

गठबन्धनमा रहेका वामपन्थी पृष्ठभूमिका दलहरूबीच चुनावी मोर्चा वा पार्टी एकताका लागि संयोजन समिति पनि बन्न सक्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो छलफल चलिरहेको छ तर अहिलेसम्म अन्तिम निर्णयमा पुग्न सकेका छैनौँ। सम्भवतः केही दिनभित्र एउटा निर्णयमा हामी पुग्छौँ।’

आफूहरूकै जोडबलमा नै नागरिकता विधेयक पारित भएको र नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको जिकिर गर्दै उनले विधेयक पारित भएसँगै नागरिकता विवाद पनि समाधान भएको पनि बताए।

Categorized in राजनीति