STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विकास निर्माण प्रभावकारी बनाउन अनुगमन

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २४, मंगलबार

जिल्लाभित्र स्थानीय तहमार्फत भइरहेका विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला समन्वय समिति पश्चिम नवलपरासीले अनुगमन थालेको छ । जिल्लाका सातवटै स्थानीय तहले गत आर्थिक वर्षमा सम्पन्न गरेका योजनाको अवस्था, गुणस्तर र सुधार गर्नुपर्ने कुरा तथा अभिलेख प्रणाली व्यवस्थापनका विषयमा अनुगमन थालिएको जिल्ला समन्वय समितिले जनाएको छ । समितिले सुस्ता र पाल्हीनन्दन गाउँपालिकामा गत आवमा सम्पन्न भएका विभिन्न योजनाहरुको अनुगमन गरिसकेको जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । “पुसभित्र सबै स्थानीय तहको योजना, कार्यक्रम तथा बजेट कार्यान्वयन र अभिलेख प्रणालीको विषयमा अनुगमन सक्ने हाम्रो योजना छ, अनुगमनबाट भेटिएका कमीकमजोरीलाई सुधार गर्न स्थानीय तहलाई प्रेरित गर्ने र विकासका कार्यलाई प्रभावकारी बनाउनु हाम्रो उद्देश्य हो”, उहाँले भन्नुभयो । हालसम्मको अनुगमनमा स्थानीय तहबाट विकास निर्माणका काम गुणस्तरीय नै रहेको पाइएको तर ती कामको व्यवस्थितरूपमा अभिलेख राखेको नपाइएको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले जानकारी दिनुभयो । “हामीले स्थानीय तहबाट सम्पन्न भएका भौतिक र वित्तीय प्रगतिको अनुगमन गरिरहेका छौँ, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा अन्य भौतिक संरचनाको गुणस्तर अनुगमनलाई प्राथमिकता दिएका छौँ, यसबाट स्थानीय तहलाई आगामी दिनमा थप सहज हुने हाम्रो विश्वास हो ।” अनुगमनपश्चात प्राप्त विवरण समेटेर तयार पारिने प्रतिवेदन सङ्घ र प्रदेशका सम्बन्धित निकायमा पनि पठाइने समितिले जनाएको छ ।
Categorized in राष्ट्रिय