विदेशमा रहेका नेपालीको भोलिदेखि उद्धार हुँदै
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २२, बिहिबार
काठमाडौं - कोभिड-१९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि सुरु हुने भएको छ । पहिलोपटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने भएको छ।
बर्मामा कार्यरत नेपालीहरू पछिल्लो समय काम नभएर अलपत्र परेपछि नेपाल सरकारको अनुरोधमा बर्माले आफ्नै खर्चमा नेपाल ल्याइदिन लागेको हो । फर्किने बेला सो विमानले काठमाडौंमा रहेका बर्मेली नागरिक लिएर जानेछ ।
यसैबीच शुक्रबार नै संयुक्त अरब इमिरेट्सबाट चार्टर्ड विमानमा २१० जना नेपाली लिएर काठमाडौं आउने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
सरकारले विभिन्न देशमा समस्यामा परेका श्रमिक, विद्यार्थी र अन्य नागरिक फर्काउने क्रममा नेपालकै विमान चार्टर्ड गर्ने तथा सम्बन्धित देशका विमान कम्पनीबाट ल्याउने दुवै प्रक्रिया पूरा गरी उडान अनुमति दिने निर्णय गरिसकेको छ ।
सरकारले ढिलोमा १० जुनबाट विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिरहेका बेला बर्माबाट भने शुक्रबारै ल्याउन लागिएको हो ।
विमानस्थलमा उत्रिएपछि उनीहरूलाई सुरक्षा निकायले बसबाट बसुन्धरास्थित यति पार्टी प्यालेसमा लैजानेछन् । त्यहाँ सरकारले होल्डिङ केन्द्र बनाएको छ । उनीहरूको त्यहाँ स्वास्थ्य परीक्षण हुनेछ र नेपाल टेलिकमले निःशुल्क सिमकार्ड समेत दिनेछ ।
होल्डिङ केन्द्रमै उनीहरूको सबै व्यक्तिगत विवरण लिएर केहीबेर आराम गराएपछि त्यहीँबाट सम्बन्धित नगरपालिका वा गाउँपालिकालाई जिम्मा लगाउने उच्चस्तरीय समन्वय समितिका एक सदस्यले बताए । ती व्यक्ति सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा १४ दिन बसेपछि पीसीआर परीक्षण गरेर घर जान पाउनेछन् ।
Categorized in राष्ट्रिय