STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्यालय दिउँसो चलाउन अटेर

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३१, मंगलबार

बागलुङ नगरपालिकाले नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई शिशुदेखि कक्षा १२ सम्मको कक्षा दिउँसो चलाउन निर्देशन दिएको छ । शिक्षा ऐन आठौँ संशोधनले विद्यालय शिक्षाका अन्य कक्षाजस्तै कक्षा ११ र १२ लाई पनि दिउँसो चलाउनुपर्ने नीतिगत व्यवस्था गरेको छ । यसअघि पटक–पटक दिउँसो कक्षा सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिइए पनि केही विद्यालयले अटेर गरेपछि सोमबार पुनः परिपत्र गरिएको शिक्षा शाखाका उपसचिव डण्डपाणी शर्माले बताउनुभयो । “केही विद्यालयले कक्षा ११ मा बिहानी सत्रका लागि भर्ना लिएको पाइएको छ”, उहाँले भन्नुभयो, “अब पनि अटेर गरेर बिहानै कक्षा चलाए कानूनी कारवाही हुन्छ ।” परिपत्रमा बिहानी सत्रका लागि भर्ना नलिन र अनिवार्य रूपमा बिहान १० बजेबाट कक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ । नगरपालिकाको परिपत्र र निर्देशन नमानी केही विद्यालयले आफूखुशी बिहानी कक्षा सञ्चालन गरिरहेका छन् । उपसचिव शर्माका अनुसार सामुदायिकतर्फ सदरमुकामस्थित विद्यामन्दिर र कालिका कन्या माविले बिहानी कक्षा सञ्चालन गरिरहेका छन् । संस्थागततर्फ १० बढी विद्यालयले बिहानी कक्षा चलाइरहेका छन् । शिक्षा विभागले पनि तीन वर्षअघि नै विद्यालय तहका सबै कक्षा दिउँसो चलाउन निर्देशन दिएको थियो । विसं २०७३ देखि नै देशभरका विद्यालय कक्षा दिउँसो सञ्चालन गर्ने नीति बनेको थियो । तीन वर्ष बितिसक्दा पनि कतिपय विद्यालयले नीति कार्यान्वयनमा बेवास्ता गरिरहेका छन् । बागलुङ नगरसभाले पनि विद्यालय शिक्षाका सबै कक्षा दिउँसो सञ्चालन गर्ने गरी नीति पारित गरेको छ । दिउँसोको कक्षाले शिक्षण सिकाइमा सुधार आउने उपसचिव शर्माको भनाइ छ । “बिहानमा शिक्षकले कक्षा नै थोरै समय लिने समस्या छ”, उहाँले भन्नुभयो, “शिक्षक, विद्यार्थीलाई धपेडी हुने, थाक्ने पनि हुन्छ ।” बिहानी कक्षा चल्ने विद्यालयका कतिपय शिक्षक दिउँसो अन्य विद्यालय र क्याम्पसमा अध्यापन गर्छन् । बिहानी कक्षा चलाउने विद्यालयले शिक्षक र भवन अभावको कारण देखाउने गरेका छन् । केहीले भवन निर्माण भइसक्दा पनि दिउँसो कक्षा चलाउन मानेका छैनन् । कक्षा ११ दिउँसो सञ्चालन गर्ने तयारी भइरहेको विद्यामन्दिर माविका प्रअ शान्तमणि ढकालले बताउनुभयो । “हाम्रोमा पाँच शङ्कायको पढाइ हुन्छ”, उहाँले भन्नुभयो, “तत्काल सबै कक्षा दिउँसो सार्न सम्भव छैन, विस्तारै शुरु हुन्छ ।” उहाँले संस्थागत विद्यालयलाई पनि दिउँसो कक्षा सञ्चालनका लागि कडाइ गर्नुपर्ने बताउनुभयो । संस्थागत विद्यालयले अहिले बिहानी सत्रमै धमाधम भर्ना लिइरहेका छन् ।
Categorized in राष्ट्रिय