STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्युत् सेवा अवरुद्ध हुँदा समस्या

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

डोटी जिल्लासहित सुदूरपश्चिमका पहाडी जिल्लामा मङ्गलबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, अछाम, बाजुरा र डोटीमा विद्युत् सेवा नहुँदा यहाँका नागरिक समस्यामा परेका छन् । मङ्गलबार दिउँसो डडेल्धुराको स्याउले सवस्टेशनमा आएको खराबीका कारण विद्युत् सेवा अवरुद्ध भएको डोटी साना जलविद्युत् केन्द्र दिपायलले जनाएको छ । सवस्टेशनमा आएको खराबीका कारण यहाँको पहाडी जिल्लामा वितरण गरिएको १३२ केभी, ३३ केभी र ११ केभी प्रसारण लाइन पूर्णरूपमा बन्द भएको डोटी साना जलविद्युत् केन्द्र दिपायलका विद्युत् अपरेटर भरत द्वारियाले बताउनुभयो । उहाँले भन्नुभयो, “स्याउले सवस्टेशनमा खराबी आउँदा यहाँका सम्पूर्ण पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको हो, विद्युत् सञ्चालन गराउन कर्मचारी हिजोदेखि नै लागिपरेका छन् तर मर्मत गर्न सकिएको छैन् ।” विद्युत् सेवा नहुँदा सञ्चारविहीन हुनु परेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीय मोहन पनेरुले बताउनुभयो । विद्युत् नहुँदा मोबाइल बन्द भएपछि चार्ज गर्न नपाउँदा सञ्चारविहीन हुनुपरेको उहाँको भनाइ छ । विद्युत् सेवा बन्द भएका कारण यहाँका पहाडी जिल्लाबाट प्रकाशित हुँदै आएका पत्रपत्रिका तथा एफएम रेडियोहरुसमेत बन्द भएका छन् । विद्युत्बाट सञ्चालित मिल, कम्प्युटर तथा विभिन्न कलकारखाना लगायतका मेसिन सञ्चालनमा आउन सकेका छैनन् । विद्युत् अवरुद्ध भएका कारण यहाँका बैंकलगायत अन्य वित्तीय कारोवार गर्ने सङ्घसंस्था पूर्णरुपमा बन्द भएका छन् । विद्युत बन्द भएका कारण इमेल, इन्टरनेट पनि बन्द भएको छ भने सञ्चारकर्मीले समाचार पठाउन सकिरहेका छैनन् । अधिकांश सञ्चारकर्मीले आफनो मोबाइलमा भएको ‘हटस्पोर्ट’ प्रयोग गरी केन्द्रमा समाचार पठाउन बाध्य छन् ।
Categorized in राष्ट्रिय