STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विपत्तिबाट जोगिन उच्च सतर्कता

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ९, बिहिबार

अविरल वर्षाले देशभर व्यापकरूपमा धनजनको क्षति पु¥याइरहेको बेला बाढीपहिरोबाट उच्च जोखिममा रहेको बाह्रविसे नगरपालिकाले आफ्ना सबै निकायलाई उच्च सतर्कतामा राखेको छ । भोटेकोशी बाढीबाट वर्षैपिच्छे जनधनको क्षति व्यहोर्दै आएको नगरपालिकाले विपद् व्यवस्थापनको बैठक बसेर सबै सामग्रीसहित आफ्ना सबै निकायलाई उच्च सतर्कतामा राखेको हो । नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले सकेसम्म विपद्बाट जोगिन र विपद् भइहालेमा तत्काल उद्धार र राहतका लागि नगरपालिकाभित्र सबै निकायलाई सामग्रीसहित तयारी हालतमा राखिएको नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिनुभयो । बाढीपहिरोबाट राजमार्ग र सहायकमार्गमा हुनसक्ने यातयात अवरोधलाई सहज बनाउनका लागि मध्यभोटेकोशी जलविद्युत् आयोजना, डिभिजन सडक कार्यालयलगायतका सरकारी निकायसँग समन्वय गरेर सबै सामग्री तयारी अवस्थामा राखिएको प्रमुख शेर्पाले जानकारी दिनुभयो । आपत्कालीन अवस्थाका लागि दुई थान एम्बुलेन्स, तीन स्काभेटर, एक लोडर, एक जेसिभी, तीन टिपरलगायतका साधन तयारी अवस्थामा राखिएको प्रमुख शेर्पाले बताउनुभयो । नगरभित्र कतै समस्या परेमा तत्कालै यी सामग्री लिएर उद्धार गरिने शेर्पाले जानकारी दिनुभयो । नगरपालिकाले औषधि, त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सबै सामग्री खरीद गरेर तयारी अवस्थामा राखेको छ । राजमार्गलगायत सहायकमार्गमा पहिरोले सडक अवरुद्ध हुँदासमेत नगरपालिकाले तत्कालै खुलाउन टोली तयारी हालतमा राखेको साथै स्वास्थ्य, शिक्षा, प्रहरी, सशस्त्र प्रहरीलगायत सबै निकायसँग समन्वय गरेर नगरवासीलाई दैवी विपत्तिबाट जोगाउनका लागि लागिरहेको प्रमुख शेर्पाले बताउनुभयो ।
Categorized in अपराध-दुर्घटना