विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा, नेता कार्यकर्तालाई छोड्न सर्कुलर
Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २०, बिहिबार
काठमाडाैं – सरकारले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । यसका साथै 'विप्लव' समूहका नेता कार्यकर्तालाई छोड्न सर्कुलर जारी गरेको छ ।
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
बिहीबार बिहान विप्लव समूहसँग सरकारले वार्ता गरी तीनबुँदे सहमति गरेको थियो । उक्त सहमतिलाई पनि मन्त्रिपरिषद्ले अनुमोदन गर्ने निर्णय गरेको छ ।
हिंसात्मक गतिविधि गरेको भन्दै २८ फागुन २०७५ मा विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको थियो ।
विप्लव समूहका नेता-कार्यकर्तालाई छोड्न गृहको निर्देशन
गृहमन्त्रालय नेत्रविक्रम चन्द 'विप्लव' समूहका नेता कार्यकर्तालाई छोड्न सर्कुलर जारी गरेको छ । सरकारसँगको वार्ताका क्रममा तीनबुँदे सहमति गरेपछि हिरासतमा रहेका विप्लव समूहका नेता कार्यकर्तालाई छाड्न गृहले सर्कुलर जारी गरेको हो ।
गृहले जिल्ला प्रशासन कार्यालयबाट छोड्न मिल्ने मुद्दामा प्रक्रिया पुर्याएर नेता कार्यकर्ता छोड्न निर्देशन दिएको छ । अन्यको हकमा भने सरकारी वकिल कार्यालयलसँगको छलफलमा छाड्न निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । गृहको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका नेता धमेन्द्र बाँस्तोलासहित देशभरबाट पक्राउ परेका नेता तथा कार्यकर्ता शुक्रबार रिहा हुँदैछन् ।
बिहीबार भएको वार्तामा पक्राउ परेका विप्लव समूहका नेता तथा कार्यकर्ताको रिहाइ तथा लगाइएका मुद्दा खारेजी गर्ने सहमति भएको थियो । सहमतिपछि विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्न तयार भएको हो । सहमतिको विस्तृत विवरण भोलि संयुक्त पत्रकार सम्मेलनमार्फत गराइने दुवै पक्षले आज जारी गरेको संयुक्त विज्ञप्तिमा जनाइएको छ ।
हिजो दुई चरणमा सरकार-विप्लव समूहबीच वार्ता भएको थियो । सरकारले गृहमन्त्री रामबहादुर थापा 'बादल'को संयोजकत्वमा बुधबार वार्ता टोली बनाएको थियो । विप्लव समूहले पनि खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेलाई वार्तामा पठाएको थियो ।
Categorized in राजनीति

