विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको इलिफेन्ट्स इन द फग’ भदौमा आउने
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ ११, बिहिबार
विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली सिनेमाको इतिहासमै अहिलेसम्मकै ठूलो सफलता हासिल गर्न सफल चलचित्र ‘इलिफेन्ट्स इन द फग’को नेपाल रिलिज तय भएको छ ।
चलचित्र वितरक प्रचण्डमान श्रेष्ठका अनुसार यो चलचित्र नेपालमा भदौ १९ गतेबाट प्रदर्शनमा आउनेछ । ‘इलिफेन्ट्स इन द फग’लाई अविनाश विक्रम शाहले निर्देशन गरेका छन् । कान्समा अवार्ड पाएसँगै यो सिनेमा प्रतिक्षित बनेको छ ।
जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस चलचित्रमा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्की लगायतको अभिनय रहेको छ ।
चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।
अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट अनुप पौडेल निर्माता रहेको यस चलचित्रमा फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स र पल जिश्लर, ब्रजिलबाट तातियाना लेइते तथा लेओनार्दो मेक्की र नर्वेबाट भेरोना मेइर स्टोर्म अन्तर्राष्ट्रिय निर्माताको रुपमा छन् । जयन्ती क्रिएसनबाट कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल, प्रचण्डमान श्रेष्ठ निर्माता छन् ।
चलचित्रलाई चलचित्रकर्मी मिन भाम, चलचित्रकर्मी प्रवेश गुरुङ, नायिका केकी अधिकारी, प्रतीक सुवेदी, प्रतिभा जोशी, सन्तोष भट्टराई, आदित्य बस्ने र अनोज पौड्यालले निर्माताको रूपमा योगदान दिएका छन् ।
आफ्नो लघु चलचित्र ‘लोरी’बाट यसभन्दा अघिनै कान्समा पुरस्कार जितेका अविनाश ‘कालो पोथी’ र ‘शाम्बाला’ तथा लिमिटेड सिरिज ‘सिंहदरबार’का पटकथाकार पनि हुन् ।
Categorized in सिनेमा

