STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २५, बिहिबार

काठमाडौं – सरकारले नेपाल प्रहरीका नायव प्रहरी महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको निर्देशनलाई वेवास्ता गर्दै बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो।

बैठकले पोखरेललाई बढुवा गर्दै कार्य एवं अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको जिम्मेवारी भने अपराध अनुसन्धान विभागका एआईजी हरिबहादुर पालले पाएका छन् ।

पोखरेल उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा भावी महानिरीक्षकको एकल दाबेदार बनाउने गरी बढुवा गरिएका हुन् । उनकै लागि भनेर सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई समेत थाहै नदिइ एउटा एआईजीको दरबन्दी थपेको थियो ।

बुधबार राज्य व्यवस्था समितिको छलफलमा सहभागी गृहमन्त्री थापाले गृह मन्त्रालयले ५ वटा डीआईजीको दरबन्दी मात्र थप्न प्रस्ताव गरेको बताएका थिए । तर, मन्त्रिपरिषद्को प्रशासनिक समितिले एउटा एआईजीको समेत दरबन्दी थपेको बताएका थिए । छलफलमा सहभागी सत्तारुढ सांसदहरुले समेत एआईजीको दरबन्दी थप गर्ने निर्णयको विरोध गरेका थिए । हाल नेपाल प्रहरीमा एक प्राविधिकसहित ४ जना एआइजी छन्। एक दरबन्दी थपसँगै अब एआइजीको संख्या ५ पुगेको छ।

एआइजीमा बढुवा भएका पोखरेल भावी प्रहरी महानिरीक्षक (आइजी)का लागि एकल दाबेदार भएका छन्। हालका आइजी शैलेश थापा क्षेत्रीले २०७९ साल बैसाख १८ गते अनिवार्य अवकाश पाउँदैछन्। आइजी थापासँगै प्रशासनतर्फका हालका तीन एआइजी पनि २०७९ बैसाख १८ गते अनिवार्य अवकाशमा जाने भएकाले पोखरेल आइजीका एकल दाबेदार हुने भएका छन्।

Categorized in राजनीति