व्यक्तिले कब्जा गरेका सबै जग्गा फिर्ता लिएर पार्क निर्माण गर्नेछौं : मेयर शाक्य
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ८, बिहिबार
विजयरत्न असंबरे
काठमाडौँ महानगरपालिकाको वडा–१८ मा पुष्पलाल स्मृति पार्क निर्माण भएको छ । उद्योग, पर्यटन वातावण मन्त्रालय, वागमती प्रदेश र काठमाडौँ महानगरपालिकाको संयुक्त अनुदानमा सो स्थानमा पार्क निर्माण भएको हो । करीब एक करोडको लागतमा निर्माण भएको सो पार्कको नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभयो । उद्घाटनपछि सम्बोधन गर्दै नेपालले पुष्पलाल को सम्झनामा उहाँकै ४० औँ स्मृति दिवसको अवसर पारेर पार्क उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खुला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली प्रर्वद्धन गर्ने, सहरको सौदर्य बढाउने, पार्क निर्माण गर्ने नीति अनुरुप काठमाडौँ महानगरपालिका अघि बढेको स्मरण गराउनुभयो । प्रमुख शाक्यले आगामी दिनमा नदी किनारको सौदर्यीकरण गरेर अघि बढ्ने बताउनुभयो । वडावडामा भएका यस्ता कार्यमा काठमाडौँ महानगरपालिकाको निरन्तर सहयोग र सहकार्य रहने पनि उहाँले प्रष्ट पार्नुभयो । ‘हरेक वडा–वडामा यही आर्थिक वर्ष मात्रै ३० वढी पार्क निर्माण गर्ने योजना अघि बढाएका छौँ ।’ सातौँ नगरसभाले विष्णुमती किनारमा रहेका नदी किनारलाई सौदर्यीकरण गरेर हरियाली प्रवद्र्धन गरी पार्क निर्माण गर्न एकमुष्ठ बजेट विनियोजन गरेको पनि उहाँले जानकारी दिनुभयो । विगतमा सयौँ रोपनी जग्गा व्यक्तिले आफ्नो जग्गा भित्र पारेको र लालपूर्जा समेत लिएको स्मरण गराउँदै प्रमुख शाक्यले ती जग्गा फिर्ता लिएर पार्क निर्माणको कामलाई अघि बढाउँदै आएको बताउनुभयो । उहाँले जहाँ सार्वजनिक जग्गा छ त्यहाँ हरियाली प्रवद्र्धन गर्ने योजनाका साथ महानगरपालिका अघि बढेको बताउनुभयो । महानगर क्षेत्र भित्रका मूर्त–अमुर्त सम्पदाको संरक्षण तथा संम्वद्र्धनको कामलाई काठमाडौँ महानगरपालिकाले तिव्र रुपमा अघि बढाएको उहाँले जानकारी दिनुभयो । ‘अभियन्ताप्रति सम्मान छ । तर, कतिपय अवस्थामा व्यवसायिक अभियन्ताका कारण सम्पदा निर्माण–पुर्ननिर्माणमा समस्या आउने गरेका छन्,’ उहाँले भन्नुभयो । शाक्यले काठमाडौँ महानगरपालिकाको जिम्मामा रहेका धेरै सडक निर्माण सम्पन्न भएको बताउनुभयो । ‘धेरै सडक मेलम्ची खानेपानीले विगारेका छन्,’ उहाँले भन्नुभयो, ‘मेलम्चीले विगारेका सडकको पनि हमीले गाली खानु परेको छ । हामी ती सडक पनि बनाइरहेका छौँ ।’ पहिलाको काठमाडौँ र अहिलेको काठमाडौँमा धेरै फरक भएको उहाँले दाबी गर्नुभयो । राजनीतिक आस्थाका नाममा भ्रम फैलाउने काम भयो प्रमुख शाक्यले राजनीतिक आस्थाका नाममा केहीले भ्रम फैलाउने काम गरेको भन्दै दुःख व्यक्त गर्नुभयो । ‘केहीले राजनीतिक आस्थाका नाममा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र मेरो बिचमा पनि असमझदारी फैलाउने काम गरे,’ मञ्चमा बस्नुभएका नेता नेपालप्रति संकेत गर्दै मेयर शाक्यले भन्नुभयो, ‘मैले पार्टीका नेता मात्रै होइन, कुनै पनि कार्यकर्ता, मतदाता र महानगरवासीको शीर झुकाउने गरी काम गर्ने छैन । सम्पूर्ण महानगरवासीको शीर उचो बनाउने गरी हामी काम गर्छौ ।’ मिशन चलाउनेहरुका लागि स्वेतपत्र जारी गर्न तयार छु प्रमुख शाक्यले आफू कुनै पार्टीबाट मेयरको उम्मेदवार बने पनि निर्वाचित भएपछि महानगरवासी सबैको मेयर भएको भन्दै महानगरवासीको हितलाई सर्वोपरी ठानी काम गरिरहेको बताउनुभयो । ‘केही युवाले मेरो र पार्टीका वरिष्ठ नेताका बीचमा विवाद ल्याउन केही मिशन पनि चलाए । सबैले बुझेपछि आफैँ सेलाएर गए,’ उहाँले भन्नुभयो, ‘मिशन चलाउनेहरुलाई हामीले सहयोग गर्न आवश्यक छैन र गर्दैनौँ पनि ।’ उहाँले न्युरोडको महर्जन कम्प्लेक्स, रानीपोखरी, टुँडिखेललगायतका सन्दर्भमा पनि केहीले भ्रम पैदा गर्ने काम गरेको र आफूलाई वद्नाम गर्ने प्रयास गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । ‘केहीले मिशनकै रुपमा मेयरले टुँडिखेल बेचेर खायो भन्दै भ्रम फैलाउने काम गरे,’ उहाँले भन्नुभयो, ‘पूर्वमन्त्री भिमसेनदास प्रधान जसले आफू मन्त्री हुँदा सिन्को भाँञ्चुु भएन । उहाँले नै केही युवालाई अघि सारेर अभियान चलाउनुभयो । नेताका घर–दैलोसम्म युवा पठाएर भ्रम फैलाउने काम गर्नुभयो ।’ मेयर शाक्यले आफूले गरेका कामको स्वेतपत्र जारी गर्न तयार रहेको चुनौति समेत दिनुभयो दिनुभयो । मेयर शाक्यले दरबार हाइस्कुल चार तलाको निर्माण भएको नदेख्नेहरुले अन्य ठाउँमा सम्पदा मिचियो भन्दै कराउने कुरा सान्दर्भिक नभएको बताउनुभयो । उहाँले सम्पदा बचाउने नाममा व्यवसायिक नबन्न पनि सुझाव दिनुभयो । कार्यक्रममा प्रदेश सांसद वसन्त मानन्धर, वडाध्यक्ष न्हुच्छेकाजी महर्जनलगायतले पनि सम्वोधन गर्नुभएको थियो । २०५१ साल अघिसम्म सुकुम्वासी बस्ती रहेको त्यहाँ सुरुमा वृक्षारोपन गरिएको थियो । वडाध्यक्ष महर्जनका अनुसार २०६५ सालमा त्यहाँ पुष्पलालको शालिक निर्माण गरिएको थियो । अहिले मायादेवी र सिदार्थ गौतमको समेत मुर्ति स्थापना गरेर विष्णुमतिको समेत सौदर्यीकरण गरिएको छ । Categorized in उपत्यका


