STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शताब्दी पुरुष खुला चित्रकला प्रतियोगिता

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ७, मंगलबार

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका सम्मानमा ‘वाङ्मय शताब्दी पुरुष दोस्रो खुला चित्रकला प्रतियोगिता’ हुने भएको छ । योङ पिकासो, शान्ति विद्याश्रम माध्यमिक विद्यालय, सहयात्रा नामक संस्था र पाटन दरबार सङ्ग्रहालयको संयुक्त आयोजनामा यही माघ १५ गते उक्त प्रतियोगिता हुन लागेको हो । सो प्रतियोगिता उमेरस्तर र खुला गरी दुई विधामा दुई चरणमा हुने योङ पिकासोका कार्यक्रम निर्देशक अजय देशारले जानकारी दिनुभयो । उहाँका अनुसार यही माघ १५ गते पहिलो चरणमा ललितपुर महानगरपालिका–८ स्थित शान्ति विद्याश्रम माविमा प्रतियोगिता हुनेछ भने दोस्रो चरणमा माघ २४ देखि २७ गतेसम्म सङ्ग्रहालयको भण्डारखाल बगैँचामा ‘अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी–२०७६’ पनि आयोजना गरिनेछ । पहिलो चरणको प्रतियोगितामा उत्कृष्ट हुने ३० बालबालिकाले दोेस्रो चरणको प्रतियोगितामा भाग लिन पाउने छन् । चित्रकला प्रतियोगितामा जोशी स्वयं उपस्थित हुनेहुँदा प्रत्यक्ष चित्रकला ‘लाइभ पेन्टिङ’ हुनेछ ।” खुलातर्फको प्रतियोगितामा भने १३ वर्ष उमेरमाथिका हरेक मानिसले भाग लिन पाउने देशारले जानकारी दिनुभयो । प्रतियोगितमा सहभागी बालबालिकाले जोशीको चित्रका साथै आफूलाई मन परेका चित्र पनि कोर्न पाउने बताइएको छ । प्रतियोगितामा सहभागी हुने देशका वरिष्ठ कलाकारले प्रत्यक्ष रुपमा जोशीको चित्र कोर्नु पर्नेछ । कुनै कलाकारलाई जोशीले विगतको जीवनकालमा गरेका कामबारे चित्र कोर्न चाहेमा आयोजकले उहाँको पुरानो तस्विर पनि उपलब्ध गराउने छ । प्रतियोगितमा दुबै विधातर्फका करीब ६०० कलाकारले भाग लिने आयोजकले जनाएका छन् । खुलातर्फ प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई रु २०, रु १५ र रु १० हजार दिनुका साथै उमेरस्तरको चित्रकलामा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई रु १२, रु आठ र रु पाँच हजार पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रममा चित्रकलाको विकास र विस्तारका लागि लामो समय योगदान पु¥याउनुभएका व्यक्तिमध्ये एक जनालाई रु १० हजार राशिसहित सम्मान पनि गरिने भएको छ । यसैगरी युवा चित्रकारमध्ये एक जनालाई जोशीको चित्रकला पुरस्कारबाट पुरस्कृत गरिने भएको छ । जोशीको चित्र कोर्ने उत्कृष्ट कलाकारको चित्रलाई नेपाल भ्रमण वर्ष–२०२० भर प्रचारप्रसार गरिने सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेले जानकारी दिनुभयो । चार वर्षअघि वाङ्मय शताब्दी पुरुषसम्बन्धी पहिलो खुला चित्रकला प्रतियोगिता आयोजना भएको थियो ।
Categorized in राष्ट्रिय