STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शिक्षण पेशाबाट अवकाशपछि बाख्रापालनमा

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ८, बुधबार

शिक्षण पेशाबाट अवकाश पाएपछि भीमसेन बस्नेतले अहिले बाख्रापालन व्यवसाय शुरु गर्नुभएको छ । पनौती नगरपालिका–७ बस्ने बस्नेतले आफ्नै घर नजिकै एक रोपनी जग्गामा रु २० लाख लगानी गरेर सो व्यवसाय शुरु गर्नुभएको हो । पनौती नगरपालिका–७ स्थित सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटमा तीस बर्षसम्म शिक्षण पेशामा रहनुभएका बस्नेतले इञ्जिनीयर मनोज प्रजापतिसँग मिलेर ‘एम्बिशन एग्रीकल्चर प्रालि’ स्थापना गरी यो व्यवसाय शुरु गर्नुभएको हो । बाख्राका लागि आवश्यक पर्ने खोर निर्माण र चरण क्षेत्र विस्तार गरिएको छ । उहाँको फार्ममा अहिले ३२ बाख्रा छन् । परम्परागत शैलीभन्दा फरक किसिमले निर्माण गरिएको खोरका लागि आवश्यक पर्ने सामग्री चीनबाट मगाइएको सञ्चालक बस्नेतले बताउनुभयो । गरे के हुँदैन भन्ने कुरालाई व्यावहारिक रुपमा देखाउन यही पेशाबाट पनि सिकिने भएकाले आफूहरुले फार्ममार्फत नयाँ प्रविधि भित्र्याएर काम गरिरहेको उहाँको भनाइ थियो । फार्ममा बोका, खसी, माउ र साना पाठापाठीलाई राख्ने ठाउँसमेत छुट्टाछुट्टै बनाइएको र त्यसका लागि काठ र बाँस प्रयोग नगरी चीनबाट ल्याइएको प्लाष्टिकको टाँड प्रयोग गरिएकोे छ । त्यससँगै फोर्स क्लिनर र च्याप्टर उपकरणसमेत खरीद गरिएको छ । “यसले फार्म गन्हाउने, कुहिने समस्याबाट मुक्त गराउनाका साथै लामो समयसम्म टिकाउ हुन्छ र बेला बेलामा भत्काइरहनुपर्दैन ।” सञ्चालक बस्नेतले भन्नुभयो, “सरसफाइ गर्न पनि सजिलो भएको र रोगब्याधिबाट पनि मुक्त हुने खालको सामग्री प्रयोग गरिएको छ ।” साना साना कुराले पनि धेरै असर गर्ने भएकाले आफूहरुले त्यस्ता कुरामा समेत जोड दिएको उहाँले बताउनुभयो । बाख्रापालनसम्बन्धी किताब र इन्टरनेटबाट त्यसको विधि, प्रक्रिया र अपनाउनुपर्ने सावधानीलगायत विषयमा अध्ययन गर्दै दैनिकजसो पशु प्राविधिकसँग परामर्शसमेत लिइरहेको सञ्चालक बस्नेतको भनाइ थियो । शून्यबाट नै शुरु गरिए पनि त्यसमा आफू सफल भएरै छाड्ने उहाँले जिकिर गर्नुभयो । “मलाई ९० प्रतिशत मान्छेहरुले सफल हुँदैनस् भनिरहेका छन्, तर म गरेरै देखाउँछु भनेर लागिरहेको छु ।”, सञ्चालक बस्नेतले भन्नुभयो । आफूले गरेको अध्ययनमा २९ प्रतिशत मात्रै मासु हाम्रो देशमा उत्पादन हुँदो रहेछ, अरु बाँकी सबै चीन र भारतबाट आयात हुँदोरहेछ । “त्यसको आपूर्तिमा स्वदेशबाट नै केही सहयोग गर्न र अर्को सबैभन्दा चुनौतीको पेशालाई अङ्गाल्ने क्रममा बाख्रा पालनलाई रोजेँ ।” उहाँले जोड दिनुभयोे, “पशुपालनमा भैँसीपालन र गाईपालनभन्दा बढी गाह्रो व्यवसाय भनेकै बाख्रापालन भएकाले पनि यही व्यवसायलाई नमूनाको रुपमा अगाडि बढाउन शुरु गरेका हौँ ।” बस्नेतसँगै अर्का एक इञ्जिनीयर पनि फार्ममा साझेदारीको रुपमा रहनुभएको छ । साथी र आफूले सल्लाह गरेर सो पेशा थालनी गरेको उहाँले बताउनुभयो । यसअघि उहाँहरु दुवैले सहकारीमार्फत तरकारीखेतीदेखि साबुन बनाउने व्यवसाय थालनी गरे पनि ती काम असफल भएपछि बाख्रापालनतर्फ लागेको सञ्चालक बस्नेतले जानकारी दिनुभयो । खसी बोकाको बजारको अवस्था पनि राम्रो रहेको उहाँको भनाइ थियो । “अहिले बजारमा हेर्ने हो भने खसीबोकाको अभाव छ, हामीले पालन गरेको खसी, बोका र बाख्राका लागि टाढाको बजार जानै पर्दैन, यही पनौती, बनेपा र धुलिखेल नै बजारको लागि काफी छ ।”, सञ्चालक बस्नेतले भन्नुभयो ।
Categorized in राष्ट्रिय