श्रेष्ठलाई ‘शक्ति पुरस्कार’, चालिसेलाई ‘स्मृति युवा सम्मान’
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ३१, शुक्रबार
कवि तीर्थ श्रेष्ठलाई यस वर्षको ‘शक्ति पुरस्कार’ प्रदान गरिने भएको छ । रण स्मृति पुरस्कार संस्था बागलुङले श्रेष्ठलाई पुरस्कृत गर्न लागेको हो । रु आठ हजार राशिको सो पुरस्कार आउँदो भदौ ६ गते प्रदान गरिने संस्थाका अध्यक्ष काजी रोशनले बताउनुभयो । कवि श्रेष्ठ सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको पूर्वसदस्य–सचिवसमेत हुनुहुन्छ । विसं २०१६ सालमा जन्मनुभएका कवि श्रेष्ठका ‘तीर्थ श्रेष्ठका कविताहरु’, ‘जिन्दगीको कुरु क्षेत्रबाट’, ‘पाइलाका निबहरुले’ लगायतका कृति प्रकाशित छन् । यसअघि ‘शक्ति पुरस्कार’ बाट भैरहवाका साहित्यकार बालकृष्ण भट्टराई र स्याङ्जाका साहित्यकार विश्वप्रेम अधिकारी पुरस्कृत भइसक्नुभएको छ । विसं २०५० सालमा स्थानीय समाजसेवी शक्तिबहादुर खड्काले बुबा रणबहादुरको स्मृतिमा पुरस्कार संस्थाको स्थापना गर्नुभयो । सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई पुरस्कृत गर्दै आएको संस्थाले विसं २०७४ देखि साहित्यतर्फ ‘शक्ति पुरस्कार’ प्रदान गर्दै आएको छ । भाषा, साहित्यको उत्थानमा टेवा पु¥याएबापत यस वर्षको ‘स्मृति युवा सम्मान’ गलकोट नगरपालिका–८ काँडेवासका युवा स्रष्टा हरि चालिसे ‘एबीसी’ लाई प्रदान गरिने भएको छ । स्मति प्रकाशन बागलुङको आज बसेको बैठकले भदौ १३ गते १५४ औँ मोती जयन्तीका अवसरमा चालिसेलाई सम्मान गर्ने निर्णय गरेको हो । चालिसेको ‘ज्यूने रहर’ गजल सङ्ग्रहसहित फुटकर रचना प्रकाशित छन् । उहाँ विभिन्न साहित्यिक सङ्घसंस्थामा पनि कृयाशील हुनुहुन्छ । स्मृति प्रकाशनले वर्षेनी मोती जयन्तीका अवसरमा युवा कवि, लेखकलाई सम्मान गर्दै आएको छ ।


