संघीयताको मर्मलाई थप बलियो बनाउन भगिनी सम्बन्धहरु स्थापनामा जोड दिएका छौँ : मेयर शाक्य
Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर १८, बिहिबार
काठमाडौं महानगरपालिका का मेयर विद्या सुन्दर शाक्य अहिले स्वदेशका विभिन्न शहरहरुसित भगिनी सम्बन्ध बनाउने अभियानमा लाग्नु भएको छ भने केही दिन अघि मात्रै रामग्राम नगरपालिसँग अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले चन्दननथासँग पनि छिटै औपचारिक रुपमा भगिनी सम्वन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले दुई नगर क्षेत्रभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवद्र्धन, विकास र प्रचार प्रसारमा सहकार्य गर्ने बताउनुभयो ।
मेयर शाक्यले यस अघि काठमाडौँ महानगरपालिकाले विश्वका विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना गरेको स्मरण गराउँदै संघीयतालाई सार्थक र थप बलियो बनाउन पछिल्लो समय स्वदेशकै नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रयास अघि बढाएको जानकारी दिनुभयो ।
भगिनी सम्बन्ध स्थापनापछि जुम्लामा उत्पादिन बहुमुल्य जडिबुटी, स्याउ, सिमि, ओखरलगायतका प्राङगरिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापनलगायतका विषयमा पनि सहकार्य गर्न सकिने शाक्यले बताउनुभयो भने उहाँले रारा, सेफोक्सुण्डो जस्ता ताल जाने बाटोमै रहेको चन्दननाथसँग धार्मिक पर्यटनसँग समेत जोडेर मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउन सकिने बताउनुभयो ।
चन्दनथान नगरपालिकाकी प्रमुख सेजुवालले स्रोत–साधनले सम्पन्न काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि भगिनी सम्बन्ध स्थापनापछि दुई नगरले सहकार्य गर्न सकिने बताउनुभयो ।
आजै धनकुटाको पाख्रिबास नगरपालिकाका प्रमुख वृषबहादुर राई र जनप्रतिनिधिसँग पनि छलफल भएको छ । सो छलफलमा प्रमुख राईले पनि आगामी दिनमा सहकार्य गरेर अघि बढ्न भगिनी सम्वन्ध स्थापनाका लागि प्रस्ताव राख्नुभयो ।
Categorized in उपत्यका

